प्रहरीसमेतको मिलेमतो

काल्पनिक दुर्घटना खडा गरी नेपाल माइक्रो इन्स्योरेन्समा ८१ लाख बीमा दाबी, ३१ जनाविरुद्ध मुद्दा दायर


काठमाडौं – नेपाल माइक्रो इन्स्योरेन्समा काल्पनिक दुर्घटना खडा गरी बीमा दाबी रकम हत्याउने ३१ जनालाई प्रतिवादी बनाएर प्रहरीले मुद्दा दायर गरेको छ। प्रहरीसमेतको मिलेमतोमा उनीहरूले ८१ लाख ठगी गरेको अभियोग पत्रमा उल्लेख गरिएको छ। उनीहरूमाथि दफा २७६ अनुसार किर्ते गर्न नहुने कसुरमा मुद्दा दायर गरिएको छ। 

प्रहरीले अभियोगपत्रमा हरि बुढाथोकी, सुसन घिमिरे, मनोज कुमार आचार्य, गंगा महर्जन, कुल बहादुर महर्जन, प्रबिन महर्जन, निरुसा महर्जन, विनोद डंगोल, पुकार महर्जन, निरोज महर्जन, सुशिल अर्याल, दयानाथ धिताल, जबिर हुसेन अन्सारी, सृजन पाण्डे, हरि प्रसाद गौतम, सुदिप कार्की, सुमित्रा अर्याल, प्रजुना भण्डारी, जयराम चापागाईँ, रामेश्वर भण्डारी, निर बहादुर बुढाथोकी, शिव खड्का, गौरी बहादुर बुढाथोकी, खिन बहादुर थपलिया, उर्मिला थापा, सफल सुवेदी, लक्ष्मण तामाङ, पवन भट्ट , राम बहादुर कार्की, विकेश कुँवर र धुर्व शाहीलाई प्रतिवादी बनाएर दायर गरेको छ।

यीमध्ये धुर्व शाही प्रहरी वृत्त नयाँबानेश्वरमा कार्यरत हवलदार हुन्। प्रहरीले दायर गरेको अभियोग पत्रमा प्रहरी निरीक्षकको नक्कली हस्ताक्षर प्रयोग गरी किर्ते कागजपत्र बनाउँदै आएको आरोपमा हरि बुढाथोकीलाई पक्राउ गरेको छ। पर्साको ठोरी गाउँपालिका–२ का बुढाथोकीलाई गोप्य सूचनाका आधारमा खोजतलास गर्दै जाने क्रममा गत १ गतै पक्राउ गरेको थियो ।

उनी जडीबुटी क्षेत्रबाट पक्राउ परेका प्रहरीले जनाएको छ। प्रहरीकाअनुसार बुढाथोकीले कार्यालयको लेटर प्याड बनाई प्रहरी निरीक्षक श्याम खनालको नामको किर्ते हस्ताक्षर प्रयोग गरी कागजपत्र दुरुपयोग गरिरहेको सूचना पाएपछि प्रहरीले निगरानाी बढाएकाे थियाे। पक्राउपछि उनलाई नियन्त्रणमा लिई अनुसन्धान गर्दा विभिन्न किर्ते कागजपत्र समेत फेला पर्याे।

बरामद कागजपत्रमा प्रहरी वृत्त नयाँ बानेश्वर काठमाडौंको चलानी नम्बर १८०९७/१८०७७ पत्रहरू रहेका छन्। ती पत्रहरूमा सवारी दुर्घटनासँग सम्बन्धित विवरण उल्लेख गरी उपचार खर्च मिलापत्र भएको भनी प्रहरी निरीक्षक श्याम खनालको हस्ताक्षर गरिएको देखिन्छ। साथै, ती कागजपत्रका सहमति कागजको नक्कली प्रतिलिपि पनि फेला परेको प्रहरीले जनाएको छ। प्रहरीले सोधपुछ गर्दा ती कागजपत्र बीमा प्रयोजनका लागि आफैँले प्रहरी वृत्त नयाँ बानेश्वरको लेटर प्याड बनाई प्रहरी निरीक्षक श्याम खनालको नामको नक्कली दस्तखत गरी तयार गरेको स्वीकार गरेको अभियोग उल्लेख गरिएको छ।

Skip This