त्रिशूलीमा बालुवामा पुरिएको अवस्थामा भेटियो गणपति डिलक्स


काठमाडौं – त्रिशूली नदीको किनारमा बालुवाले पुरिएको अवस्थामा गणपति डिलक्स नाम लेखिएको गाडी फेला परेको छ। तनहुँको आबुखैरेनी गाउँपालिका–५ द्धोन्द्राङ बेँसी नजिकै त्रिशूली नदीको किनारमा पुरिएको अवस्थामा सो गाडीको पाट्र्सपुर्जा फेला परेको हो।

पाटपुर्जा देखिएको सो गाडी खोजीकार्यको लागि सशस्त्र प्रहरी बल नेपाल नं १७ गण चितवन र नं २३ मनकामना गण भानु तनहुँबाट खटिएका सुरक्षा फौजले उक्त नाम लेखिएको गाडी फेला पारेको सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए।

काठमाडौंबाट गौरतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००१ ख २४९५ नम्बरको गणपति डिलक्स र वीरगञ्जबाट काठमाडौंतर्फ आउँदै गरेको बागमती प्रदेश ०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स २०८१ असार २८ गते पहिरोले पुरिएर चितवनको सिमलतालस्थित त्रिशूली नदीमा बेपत्ता भएका थिए।

गणपति डिलक्समा सवार ३१ जनामध्ये तीन जनाले हामफालेर ज्यान जोगाएका थिए भने २८ जना बेपत्ता भएका थिए। सोमध्ये १४ जनाको शव फेला परेको थियो। अन्य हालसम्म बेपत्ता छन्।