काठमाडौं – त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ अस्पताल) ले स्वास्थ बीमा सेवा बन्द गरेको छ । अस्पतालले एक सूचना जारी गर्दै सरकारको स्वास्थ्य बीमा उपचारको सम्पूर्ण सेवाहरु खारेज गरेको बताएको हो ।
स्वास्थ्य बीमाबाट उपचारमा आउने बिरामी संख्या तथा चाप दिनहुँ बढ्दा मासिक झण्डै ५ करोड हाराहरीको खर्च हुनेमा बीमा बोर्डबाट ५० प्रतिशत मात्र दावी स्वीकृत गरी बाँकी अस्वीकृत गरिदै आएको र हालसम्म अस्पतालको बीमा दावी रकम झण्डै ४० करोड भुक्तानी बाँकी रहेको उल्लेख गरेको छ ।
अस्पतालमा आउने बिरामीहरुको उपचारको क्रममा, बीमा बोर्डको र अस्पतालको दररेट शुल्क फरक भएको र अस्पतालले बारम्बार अस्पतालको रकमलाई अन्तिम रकम मान्दिन आग्रह गर्दापनि विगत २ वर्ष देखि कुनै सुनुवाई नगरेको भन्दै अस्पतालले बीमा सेवा बन्द गरेको हो । यस्तै, अस्पतालले आन्तरिक स्रोतबाट सम्पूर्ण दैनिक खर्च व्यहोर्नु पर्ने हुँदा मासिक २ करोड घाटा खाएर स्वास्थ्य बीमा कार्यक्रम संचालन गर्न नसक्ने भएको भन्दै यही माघ १ गतेदेखि सरकारको स्वास्थ्य बीमाको सम्पूर्ण उपचार सेवाहरु बन्द गर्ने बताएको हो ।
बीमा बोर्ड र त्रिवि शिक्षण अस्पतालबीच सम्झौता भई विगत २०७७ साल देखि नेपाल सरकारको स्वास्थ्य बीमा उपचार कार्यक्रम निरन्तर संचालन गर्दै आएको थियो ।





About Us
प्रतिक्रिया