त्रिशूलीमा माछा मार्ने क्रममा बसको अवशेष भेटियो, सीमलतालमा हराएको बस हुन सक्ने आशंका


चितवन – तनहुँको आँबुखैरहनी गाउँपालिका – ५ द्वोन्द्राङ बेँसीस्थित त्रिशूली किनारमा बसको अवशेष भेटिएको छ। भरतपुर महानगरपालिका – २९ स्थित सिमलतालमा गत वर्ष बेपत्ता भएका दुई बसमध्ये एउटा हुन सक्ने आशंका गरिएको छ। बस बेपत्ता भएको ठाउँबाट २०० मिटरनजिक तनहुँतर्फ बसको अवशेष फेला परेको हो।

इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरीक्षक प्रतीक सिंहका अनुसार माछा मार्ने क्रममा जाल अड्किएपछि स्थानीयले खोतलेर हेर्दा बसजस्तो देखेपछि प्रहरीलाई खबर गरेका थिए। सोलगत्तै बालुवामा पुरिएको अवस्थामा बस देखिएपछि खन्ने काम भइरहेको छ। उनकाअनुसार नीलो रङको देखिएको र सिमलतालमा हराएको गणपति बसको रङसँग मिलेकाले सोही बस हुन सक्ने सम्भावना छ। यद्यपि, बस निकालेपछि मात्रै यकिन भन्न सकिने उनले जानकारी दिए।

२८ असार २०८१ मा नारायणगढ–मुग्लिन सडकखण्डको सिमलतालबाट पहिरोसहित दुई बस त्रिशूलीमा बेपत्ता भएका थिए। बागमती प्रदेश–०३–००१ ख २४९५ नम्बरको गणपति र बागमती प्रदेश–०३–००६ ख १५१६ नम्बरको एञ्जल डिलक्स त्रिशूलीमा बेपत्ता भएका थिए। दुई बसमा सवार ६५ जनामध्ये ११ जनाको शव फेला परेको थियो भने तीन जना घाइते भएका थिए। घटनामा ५१ जना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालले बताए।