काठमाडौं – चालु आर्थिक वर्ष २०८२/८३ को पाँच महिनामा कुल वस्तु निर्यात ५८.२ प्रतिशतले बढेकाे छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेकाे तथ्यांकअनुसार समिक्षा अवधिमा कुल वस्तु निर्यात १ खर्ब १६ अर्ब ५१ करोड पुगेको छ।
अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यातमा १६.५ प्रतिशतले वृद्धि भएको थियो। गन्तव्यका आधारमा भारत र अन्य मुलुकतर्फको निर्यात क्रमशः ८२.७ प्रतिशत र ५.५ प्रतिशतले बढेको छ भने चीनतर्फको निर्यातमा ७३.३ प्रतिशतले कमी आएको छ।
वस्तुगत आधारमा भटमासको तेल, अलैंची, पाम तेल, जुटका सामान, जुत्ता तथा चप्पललगायतका वस्तुको निर्यात बढेको छ भने जिङ्क सिट, पार्टिकल बोर्ड, चिया, ऊनी गलैंचा, हस्तकलालगायतका वस्तुको निर्यात घटेको छ।
समिक्षा अवधिमा कुल वस्तु आयात १५.८ प्रतिशतले वृद्धि भई रु.७६६ अर्ब १९ करोड पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ३.० प्रतिशतले वृद्धि भएको थियो। वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन र अन्य मुलुकबाट भएको आयातमा क्रमशः ५.७ प्रतिशत, २४.६ प्रतिशत र ४०.८ प्रतिशतले वृद्धि भएको छ।
वस्तुगत आधारमा भटमासको कच्चा तेल, रासायनिक मल, सुन, यातायातका उपकरण, सवारी साधनतथा स्पेयर पार्टस्, चाँदीलगायतका वस्तुको आयात बढेको छ भने हट रोल्ड शिट इन क्वाइल, लसुन, खाने तेल, तेलहन, दाललगायतका वस्तुको आयात घटेको छ।
आर्थिक वर्ष २०८२/८३ को पाँच महिनामा कुल वस्तु व्यापार घाटा १०.५ प्रतिशतले वृद्धि भई ६ खर्ब ४९ अर्ब ६८ करोड पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा १.५ प्रतिशतले वृद्धि भएको थियो। समीक्षा अवधिमा निर्यात– आयात अनुपात १५.२ प्रतिशत पुगेको छ।
अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात ११.१ प्रतिशत रहेको थियो। समीक्षा अवधिमा भारतबाट परिवत्र्य विदेशी मुद्रा भुक्तानी गरी र ६९ अर्ब ४५ करोड बराबरको वस्तु आयात भएको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ७२ अर्ब ८४ करोड बराबरको भएको थियो।





About Us
प्रतिक्रिया