काठमाडौं – यतिबेला मुलुक प्रतिनिधिसभा सदस्य निर्वाचनमा होमिएको छ। नेपाल सरकार, निर्वाचन आयोग, सबै सुरक्षा निकाय, राजनीतिक दल र सरोकार भएका पक्षले निर्वाचनका लागि आफ्नातर्फबाट तयारी गरिरहेका छन्। एकीकृत सुरक्षा रणनीतिअनुसार सुरक्षाको दोस्रो घेरामा रहने सशस्त्र प्रहरी बल नेपालले पनि आफ्नो तयारीलाई तीव्रता दिएको छ। उक्त तयारीका सम्बन्धमा सशस्त्र प्रहरी बल नेपालका प्रवक्ता एवं सशस्त्र प्रहरी नायब महानिरीक्षक मनिष थापासँग राष्ट्रिय समाचार समिति (रासस) का प्रमुख समाचारदाता नारायणप्रसाद न्यौपाने र समाचारदाता अशोक घिमिरेले गरेका कुराकानीको सम्पादित अंशः
मुलुक निर्वाचनको सम्मुखमा छ, सशस्त्र प्रहरी बलको बुझाइमा शान्ति सुरक्षाको अवस्था कस्तो छ ?
मुलुकमा शान्ति सुरक्षाको अवस्था मजबुद छ । प्रमुख सुरक्षा सङ्गठनको हैसियतमा सशस्त्र प्रहरी बल नेपालले अन्य सुरक्षा निकायसँग समन्वयका साथ कार्य गर्दै आइरहेको छ। मुलुक निर्वाचनमय भइसकेको छ। आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई शान्तिपूर्ण, भयरहित र निष्पक्ष रुपमा सम्पन्न गर्न सिङ्गो सङ्गठन क्रियाशील भइसकेको छ । निर्वाचन प्रहरी भर्नाको प्रक्रिया सुरु भएको छ। सशस्त्र प्रहरी ‘हेडक्वार्टर’, बाहिनी र जिल्ला स्तरमा निर्वाचन सेल गठन गरेर अनुशिक्षण तालिमलगायत आवश्यक बन्दोबस्त गरिसकेका छौँ।
निर्वाचनलक्षित सुरक्षा रणनीति के कस्तो अवलम्बन गरिएको छ ?
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई निष्पक्ष, भयरहित र शान्तिपूर्ण वातावरणमा सम्पन्न गराउन सम्पूर्ण सुरक्षा रणनीतिहरू तयार भइसकेको छ। सोही रणनीतिअनुसार चारवटै सुरक्षा फौज आपसी सहयोग र समन्वयका साथ अघि बढ्नेछन्। हामीसँग अप्ठ्यारो परिस्थितिमा यसअघि निर्वाचन सफल गराएको अनुभव छ। तीनै अनुभव र वर्तमान आवश्यकतालाई सम्बोधन गर्दै तदअनुरुप सुरक्षा व्यवस्था मिलाइने छ।
निर्वाचनमा हुनसक्ने सम्भावित चुनौतीलाई कसरी हेरिएको छ ?
निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न निर्वाचन क्षेत्रलाई अतिसंवेदनशील, संवेदनशील र सामान्य गरी वर्गीकरण गरिएको छ। सोहीअनुरुप बाहिनी र जिल्लामा आवश्यक तैनाथी मिलाइएको छ। केन्द्रमा दुई प्लटुनलाई ‘स्पेसल टास्क फोर्स’ (एसटिएफ)का रूपमा तयारी अवस्थामा राखिएको छ। हरेक बाहिनीमा एक–एक प्लटुन ‘क्विक रियाक्सन टिम’को व्यवस्था गरिएको छ। यस्तै, मोबाइल स्ट्राइकिङ, क्विक रेस्पोन्स टिम र तैनाथी टोलीहरू बाहिनी, गणमा मौज्दातमा राखेर सोहीअनुसार परिचालित गर्ने नीति बनाइएको छ। निष्पक्ष, भयरहित र शान्तिपूर्ण वातावरणमा निर्वाचन सम्पन्न गर्न सम्पूर्ण सुरक्षा रणनीति तयार छन्। सोहीअनुसार सशस्त्र प्रहरी परिचालित भइसकेको छ। सुरक्षाको सबालमा कुनै ‘कम्प्रोमाइज’ हुँदैन।
निर्वाचनका समयमा सशस्त्र प्रहरी बलका कति जनशक्ति खटिन्छन् ?
निर्वाचनमा सशस्त्र प्रहरीतर्फ ३४ हजार ५७६ जना र १५ हजार ११० ‘निर्वाचन प्रहरी’ गरी कूल ४९ हजार ६८६ जना परिचालित हुन्छन्। आवश्यक जनशक्ति अभावका कारण निर्वाचन प्रहरी लिन लागिएको हो। सुरक्षा चुनौतीलाई मध्यनजर गरी अन्य सुरक्षा निकायको समन्वयमा सुरक्षा व्यवस्था मजबुद बनाउने कार्य भइरहेको छ।
निर्वाचनका समयमा असहज स्थिति बनेको खण्डमा कसरी व्यवस्थापन गर्नुहुन्छ ?
निर्वाचनमा सशस्त्र प्रहरीले दोस्रो घेरामा रहेर सुरक्षा प्रदान गर्ने हो। जिल्ला सुरक्षा समिति र अन्य सुरक्षा निकायसँगको समन्वयमा सशस्त्र प्रहरी परिचालन हुन्छ। निर्वाचनको समयमा कुनै पनि अप्रिय घटना हुन नदिन उच्च सतर्कता अपनाएका छौँ। जुनसुकै अवस्थामा पनि सशस्त्र प्रहरी १० मिनेटभित्र घटनास्थलमा पुग्नेगरी परिचालित गरेका छौँ।
जेनजी आन्दोलनका क्रममा फरार कैदी र लुटिएका हतियारलाई मुख्य सुरक्षा चुनौतीका रूपमा विश्लेषण गरिएको छ । यसलाई सशस्त्र प्रहरीले कसरी लिएको छ ?
नेपाल प्रहरी र अन्य सुरक्षा निकायसँग समन्वयमा सशस्त्र प्रहरीले काम गरिरहेको छ। सुरक्षा चुनौतीका विषय पहिचान गरिसकेका छौँ। फरार कैदी र लुटिएका हतियार उल्लेख्य सङ्ख्यामा नियन्त्रणमा आइसकेका छन्। प्रश्न उठाइएको जस्तो सुरक्षा चुनौती हुन्न।
पछिल्लो समय सुरक्षा फौजको मनोबलको विषय उठाइएको छ। के बाहिर टिप्पणी भएजस्तै अवस्था हो र ?
सशस्त्र प्रहरी बलको मनोबल हिजो पनि उच्च नै थियो। आज पनि उच्च नै छ र भोलि पनि उच्च नै हुनेछ। राष्ट्र र जनताप्रति समर्पित सुरक्षाकर्मीको मनोबल खस्केको छैन। विगतका अनुभवका आधारमा आसन्न निर्वाचनलाई सफल बनाउन उच्च मनोबलका साथ खटिएका छौँ। निर्वाचनको जिम्मेवारी सहज रूपमा पूरा गर्छौँ।
सशस्त्र प्रहरी मातहत खटिने १५ हजार निर्वाचन प्रहरीको भूमिका कस्तो रहन्छ ?
सशस्त्र प्रहरी बलले १५ हजार ११० निर्वाचन प्रहरी लिन लागेको छ। निर्वाचन प्रहरी छनोट भइसकेपछि सशस्त्र प्रहरीलाई चाहिएको जनशक्ति उपलब्ध हुने हो। उनीहरूलाई १० दिनको तालिम दिएर परिचालन गर्छौँ । उनीहरूलाई सशस्त्र प्रहरीले नै कमाण्ड गर्नेछ। १२ जना रहने एउटा मोबाइल टोलीमा सात जना सशस्त्र प्रहरी र पाँच जना निर्वाचन प्रहरी हुनेछन्। उनीहरूले मतदान स्थलसम्म पुगेर सुरक्षा प्रदान गर्नेछन्।
सशस्त्र प्रहरी बलको प्रमुख जिम्मेवारी सीमा सुरक्षा पनि हो । निर्वाचनको समयमा सीमा क्षेत्रबाट हुनसक्ने अवाञ्छित क्रियाकलाप रोक्न के–कस्तो तयारी गरिएको छ?
सशस्त्र प्रहरी बल तोकिएका १४ वटा ‘म्याण्डेड’अनुसार सीमा सुरक्षा, आन्तरिक सुरक्षा, राजस्व चुहावट नियन्त्रण र विपद् व्यवस्थापनलाई प्रमुख कार्यभार मानेर परिचालित भएको छ। निर्वाचनसँगै अन्य समयमा पनि सीमालाई कसरी व्यवस्थित र सुरक्षित बनाउन सकिन्छ भनेर काम भइरहेको छ। निर्वाचनका समयमा कुनै पनि घटना नहोस् भनेर बोर्डर आउट पोस्ट (बिओपी)मा पनि त्यहीअनुसार समन्वयात्मक ढङ्गबाट परिचालन गरिएको छ। समकक्षी सङ्गठनसँग समन्वय गरेर गस्ती भइरहेको छ। यस्तै, समयसमयमा सीमा सुरक्षा बैठक पनि भइरहेका छन्।
राजस्व चुहावट नियन्त्रणमा सशस्त्र प्रहरीको योगदान कस्तो छ ?
चुहावट नियन्त्रण गरेर राजस्व सङ्कलनमा सशस्त्र प्रहरी बल सक्रियतापूर्वक खटिइरहेको छ। पछिल्लो छ महिनामा मात्रै सशस्त्र प्रहरीले रु एक अर्ब ८५ करोडभन्दा बढी अवैध सामान नियन्त्रणमा लिएर राजस्व अनुसन्धान तथा भन्सार कार्यालयमा दाखिला गरेको छ। चुहावट नियन्त्रणमा सशस्त्र प्रहरी चनाखो छ।
सशस्त्र प्रहरी बल स्थापनाको २५ वर्ष पुगेको छ। रजत महोत्सवको तयारी कसरी भइरहेको छ ?
रजत महोत्सवलाई भव्यतापूर्वक सफल बनाउन विभिन्न कार्यक्रम तय गरिएका छन्। भर्खरै मात्रै पूर्वपश्चिम ‘झण्डा मार्च’ कार्यक्रम सुरु भएको छ। सशस्त्र प्रहरी हेडक्वार्टर, बाहिनी, गणमा विभिन्न कार्यक्रम हुनेछन्। मुलुकमा शान्ति सुरक्षा र अमनचयन कायम गराउँदै आन्तरिक र बाह्य सुरक्षालाई प्रभावकारी बनाउन सशस्त्र प्रहरी खटिइरहेको छ।
निर्वाचनका लागि देशवासीलाई सशस्त्र प्रहरीको सन्देश के छ ?
आसन्न निर्वाचनलाई शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गराउन सशस्त्र प्रहरी खटिइसकेको छ। कुनै पनि कमीकमजोरी हुन नदिई शान्ति सुरक्षालाई अझ मजबुत बनाएर लैजान्छौँ। आममतदातालाई ढुक्क भएर निर्वाचनमा भाग लिन आग्रह गर्दछौँ।





About Us
प्रतिक्रिया