५ लाख भन्दा बढीको कारोबार गर्दा एकाउन्टपेयी चेक मार्फत गर्नुपर्ने


काठमाडौं – नेपाल राष्ट्र बैंकले चेक क्लियरिङ्ग तथा भुक्तानी सम्बन्धी व्यवस्थामा हेरफेर गरेको छ । केन्द्रीय बैंकले यस व्यवस्थामा हेरफेर गर्दै बैंक तथा वित्तीय संस्थाले ५ लाख वा सोभन्दा बढीको रकम भुक्तानी गर्दा अनिवार्य रुपमा एकाउन्टपेयी चेक वा सम्बन्धित व्यक्तिको खातामा मात्र भुक्तानी गर्नु पर्ने व्यवस्था गरेको हो ।

यस्तै, फर्म, कम्पनी, संस्था वा कार्यालयको नाममा खिचिएका चेकहरुको भुक्तानी समेत एकाउन्टपेयी हुनुपर्ने छ । कुनै निक्षेपकर्ता वा बचतकर्ताले कुनै खास कारण देखाई नगद भुक्तानीको लागि दिएको निवेदनको व्यहोरा र कारण मनासिब देखिएमा त्यस्तो निक्षेपकर्ता वा बचतकर्तालाई उल्लेखित सीमाभन्दा बढी नगद भुक्तानी गर्न यस व्यवस्थाले बाधा नपर्ने उल्लेख छ । बैंक तथा वित्तीय संस्थाले यस व्यवस्था बमोजिम नगद भुक्तानी दिएको मासिक विवरण अद्यावधिक गर्नुपर्ने उल्लेख छ ।