कस्तो छ मुलुकको वर्तमान आर्थिक तथा वित्तीय स्थिति ?


काठमाडौं – विदेशी मुद्रा सञ्चिति ३२ खर्ब रुपैयाँ नाघेको छ। नेपाल राष्ट्र बैंकका अनुसार मंसिरसम्म विदेशी मुद्रा सञ्चिति ३२ खर्ब १ अर्ब ४७ करोड रुपैयाँ पुगेको हो। गत असारमा २६ खर्ब ७७ अर्ब ६८ करोड रुपैयाँ बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति थियो। ५ महिनाको अवधिमा १९.६ प्रतिशत बढेको राष्ट्र बैंकले जनाएको छ।

कुल विदेशी विनिमय सञ्चितिमध्ये राष्ट्र बैंकसँग २८ खर्ब ६६ अर्ब ४७ करोड रुपैयाँ र बैंक तथा वित्तीय संस्थासँग ३ खर्ब ३५ अर्ब रुपैयाँ कायम छ। गत असारसम्म राष्ट्र बैंकमा २४ खर्ब १४ अर्ब ६४ करोड रुपैयाँ र बैंकसँग २ खर्ब ६३ अर्ब ४ करोड रुपैयाँ थियो। ५ महिनामा राष्ट्र बैंकमा विदेशी मुद्रा १८.७ प्रतिशत र बैंकमा २७.४ प्रतिशत बढेको हो। २०८२ मङ्सिर मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२.२ प्रतिशत रहेको छ।

राष्ट्र बैंकका अनुसार अमेरिकी डलरमा यस्तो सञ्चिति मंसिरमा १३.५ प्रतिशतले वृद्धि भई २२ अर्ब १३ करोड पुगेको छ। गत असारमा १९ अर्ब ५० करोड अमेरिकी डलरमा विदेशी मुद्रा सञ्चिति थियो। २०८२ मङ्सिर मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरू क्रमशः ५२.४ प्रतिशत, १५१.९ प्रतिशत र ३९.४ प्रतिशत रहेका छन्। २०८२ असार मसान्तमा उक्त अनुपातहरू क्रमशः ४३.८ प्रतिशत, १२८.१ प्रतिशत र ३४.१ प्रतिशत रहेका थिए।