सामान्य बढ्यो निजी क्षेत्रमा हुने कर्जा लगानी, कुन क्षेत्रमा कति ?


काठमाडौं – नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रमा प्रवाहित कर्जा १.९ प्रतिशत १ खर्ब २ अर्ब २४ करोडले बढेर ५५ खर्ब ९९ अर्ब ९५ करोड पुगेको बताएको छ । आर्थिक वर्ष २०८२/८३ को पाँच महिनाको प्रतिवेदन सार्वजनिक गर्दै निजी क्षेत्र हुने लगानीमा सामान्य सुधार आएको उल्लेख गरेको छ ।

केन्द्रीय बैंककाअनुसार अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा १ खर्ब ७८ अर्ब २९ करोड (३.५ प्रतिशत) ले बढेको थियो । वार्षिक विन्दुगत आधारमा २०८२ मङ्सिर मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रतर्फ प्रवाहित कर्जा ६.६ प्रतिशतले बढेको छ । राष्ट्र बैंकले २०८२ मङ्सिर मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रमा प्रवाहित कर्जामध्ये गैर–वित्तीय संस्थागत क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ६२.७ प्रतिशत र व्यक्तिगत तथा घरपरिवार क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ३७.३ प्रतिशत रहेको उल्लेख गरेको छ । जुन अघिल्लो वर्षको सोही अवधिमा यस्तो अंश क्रमशः ६४.१ प्रतिशत र ३५.९ प्रतिशत रहेको थियो ।

केन्द्रीय बैकले मंसिर मसान्तसम्ममा निजी क्षेत्रतर्फ प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरूको २.० प्रतिशत, विकास बैंकहरूको ०.८ प्रतिशत र वित्त कम्पनीहरूको कर्जा प्रवाह १.२ प्रतिशतले बढेको छ । २०८२ मङ्सिर मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको लगानीमा रहेको कर्जामध्ये चालु सम्पत्ति (कृषि तथा गैर–कृषिजन्य वस्तु) को सुरक्षणमा १४.९ प्रतिशत रहेको छ भने घरजग्गा धितो सुरक्षणमा ६४.४ प्रतिशत रहेको छ । २०८१ मङ्सिर मसान्तमा यस्तो धितोमा प्रवाहित कर्जाको अंश क्रमशः १३.५ प्रतिशत र ६६.१ प्रतिशत रहेको थियो ।

आर्थिक वर्ष २०८२/८३ को पाँच महिनामा बैंक तथा वित्तीय संस्थाहरूको लगानीमा रहेको कर्जामध्ये निर्माण क्षेत्रतर्फको कर्जा ५.२ प्रतिशत, उपभोग्य क्षेत्रतर्फको कर्जा ५.१ प्रतिशत, यातायात, सञ्चार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा ३.५ प्रतिशत, औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा २.५ प्रतिशत र सेवा उद्योग क्षेत्रतर्फको कर्जा ०.४ प्रतिशतले बढेको छ भने कृषि क्षेत्रतर्फको कर्जा र वित्त विमा तथा अचल सम्पत्ति क्षेत्रतर्फको कर्जा २.२ प्रतिशतले घटेको छ ।

मंसिर मसान्तसम्ममा बैंक तथा वित्तीय संस्थाहरूबाट प्रवाहित कर्जामध्ये हायर पर्चेज कर्जा ६.१ प्रतिशत, मार्जिन प्रकृतिको कर्जा ५.७ प्रतिशत, रियल स्टेट कर्जा (व्यक्तिगत आवासीय घर कर्जासमेत) ३.७ प्रतिशत, क्यास क्रेडिट कर्जा २.६ प्रतिशत, आवधिक कर्जा १.२ प्रतिशत, माग तथा अन्य चालु पुँजी कर्जा १.० प्रतिशत, र ट्रष्ट रिसिट (आयात) कर्जा ०.९ प्रतिशतले बढेको छ भने अधिविकर्ष कर्जा ५.४ प्रतिशतले घटेको केन्द्रीय बैंकको तथ्यांक छ ।