काठमाडौं – नेपाल राष्ट्र बैंक बैंकिङ्ग प्रणालीमा अत्यधिक तरलता थुप्रिएसँगै तरलता व्यवस्थापनका लागी नयाँ बाटोमा लागेको छ । केन्द्रीय बैंकले तरलता व्यवस्थापनका लागि ऋणपत्र जारी गर्न थालेको हो ।
बैंक तथा वित्तीय संस्थामा तरलता थुप्रिने क्रम नरोकिँदा बैंकहरुलाई तरलता व्यवस्थापनमा चुनौती थपिएको छ । बैंक तथा वित्तीय संस्थाबाट हुने कर्जा प्रवाहमा सुधार नआउँदा संस्थामा निक्षेप संकलन हुने क्रम जारी रहेका कारण बैंकहरुलाई तरलता व्यवस्थापनमा चुनौती सिर्जना भएको हो ।
बैंक तथा वित्तीय संस्थाबाट हुने कर्जा लगानी बढ्न नसक्दा बैंकिङ्ग प्रणालीमा अत्यधिक तरलता थुप्रिएको छ । बैंकिङ्ग प्रणालीको तरलता व्यवस्थापन राष्ट्र बैंकले गर्नुपर्ने हुन्छ । जसका कारण लामो समयका लागी केन्द्रीय बैंकले तरलता व्यवस्थापन गर्न ऋणपत्र जारी गर्न थालेको हो ।
यसै क्रममा केन्द्रीय बैंकले पुस महिनामा मात्रै छ पटक ऋणपत्र जारी गरिसकेको छ । केन्द्रीय बैंकले हालसम्ममा १ खर्ब ३० अर्बको ऋणपत्र जारी गरिसकेको छ । पुस १४ गते २५ अर्ब, पुस १६ गते २५ अर्ब, पुस २० गते २५ अर्ब, पुस २२ गते २५ अर्ब, पुस २३ गते २० अर्ब र पुस २४ गते १० अर्बको ऋणपत्र जारी गरेको हो ।
यसअघि तरलता व्यवस्थापनका लागी केन्द्रीय बैंकले निक्षेप संकलन उपकरणको प्रयोग गर्दै आएको थियो । जसबाट राष्ट्र बैंकले ६ महिनासम्मका लागी निक्षेप संकलन गर्दै आएको थियो । तर, बैंक तथा वित्तीय संस्थामा भएको तरलता केही समय बैंकहरुमा नै बस्ने देखिएपछि केन्द्रीय बैंकले एकैपटक एक वर्षका लागी ऋणपत्र नै जारी गरेर बजारबाट पैसा तानेको हो ।





About Us
प्रतिक्रिया