काठमाडाैं – सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–६ का २२ वर्षीय योगबहादुर श्रेष्ठ गाउँमै उच्च माध्यमिक तहको अध्ययन सकेर तीन वर्षअघि आत्मनिर्भर बन्ने सिलसिलामा काठमाडौं गएका थिए। स्नातक तहमा अध्ययनरत श्रेष्ठ पछिल्लो समय माल्टा जाने तयारी गर्दै थिए। योगबहादुरका दाजु रामकृष्ण श्रेष्ठ अभिभावकका रूपमा प्रत्येक दिन जसो भाइलाई फोन गरिरहन्थे। दाजुभाइबीच पारिवारिक समृद्धिका विषयमा भलाकुसारी हुन्थे।
गत भदौ २३ गते काठमाडौंमा जेनजी पुस्ताको आयोजनामा सरकारलाई खबरदारी गरिएको थियो। सो क्रममा प्रहरी र विद्यार्थी झडप भयो। त्यसक्रममा प्रहरीले चलाएको गोली लागेर ठुलो सङ्ख्यामा आन्दोलनकारी युवा विद्यार्थीको निधन भयो। सोही घटनाका विषयलाई लिएर भोलिपल्ट काठमाडौंसहित देशभर विरोध प्रदर्शन भयो।
योगबहादुर त्यसदिनको विरोध प्रदर्शनमा सामेल थिए। गौशाला चोक नजिक गोली लागेर योगबहादुरको निधन भइसकेको रहेछ। भदौ २४ गते दिउँसो २ बजेतिर रामकृष्णले काठमाडौंको हालखबर बुझ्न भाइ योगबहादुरलाई फोन गरे। फोन उठे पनि तर त्यो आवाज भाइको थिएन। ‘भाइ आन्दोलन स्थलमै गोली लागेर ढलिसकेका रहेछन्, अर्को एक जनाले फोन उठाएर तपाईँको मान्छेलाई एम्बुलेन्समा लगेको छ भनेपछि हामी अत्तालियौँ, उनलाई रातभर काठमाडौंका अस्पतालमा खोज्यौँ, पछि बुझ्दै जाँदा त्रिवि शिक्षण अस्पतालमा भाइको शव फेला पर्यो,’गहभरि आँसु पार्दै रामकृष्णले भने। योगबहादुरलाई आन्दोलनका क्रममा कोखामा गोली लागेको रहेछ। ‘भ्रष्टाचारमुक्त देश माग्दा भाइले गोली खाएर ज्यान गुमाउनुपर्याे, जसले सिङ्गो परिवार मर्माहत त भएको छ, त्यससँगै बलिदानी खेर जाला भन्ने चिन्ताले पिरोलेको छ,’ दाजु रामकृष्णले भने।
योगबहादुर जेन जी आन्दोलनमा सहभागी भएका बारेमा परिवारजनलाई थाहै थिएन। परिवारजनलाई भाइ कोठामै बसेको होला भन्ने लागेको थियो। ‘उनी आन्दोलनमा गएको हामीलाई पछि मात्रै थाहा भयो, यस्तो घटना घट्ला भन्ने कल्पना पनि थिएन,’रामकृष्णले भने।
गाउँमै हुँदा पनि योगबहादुर दुःखी गरिबको सेवामा तल्लीन थिए। विपन्न र उपचार नपाएर नागरिकको मृत्यु भएका घटनाले उनलाई घोचिरहने गर्थ्यो। योगबहादुर पुतलीसडकमा फुपूको घरमा बस्थेँ। योगबहादुरको निधनको खबर सुनेपछि कामका सिलसिलामा बाह्रबिसे बजार झर्नुभएका दाजु रामकृष्ण सबै काम छाडेर हत्तपत्त घर फर्किए। काठमाडौंमा भएका आफन्तलाई फोन गरेर भाइका बारेमा बुझ्न आग्रह गरे। तर, भाइको बारेमा केही जानकारी पत्ता लागेन। त्यो दिन सम्झँदै दाजु रामकृष्ण भन्छन्, ‘त्यो दिन भाइको अवस्था पत्ता लगाउनै सकिएन।’
भाइको मोबाइल, कलेजको परिचयपत्र केही नहुँदा अस्पतालले समेत पहिचान गरेर जानकारी दिन सकेनन्। रातिसम्मै आफन्त र साथीसँग सोधपुछ चलिरह्यो। कतै समाचार वा सामाजिक सञ्जालमा गोली लागेर मृत्यु भएको भन्ने सुन्दा पनि उनको परिवार आत्तिन्थ्यो। रातभर जागै बसे पनि परिवारले योगबहादुरको खबर पाएन। भदौ २५ गते बिहानै बुबा तिलकबहादुर र आमा देवीमायासहित परिवारजन काठमाडौं पुगे।
‘त्यहाँ गएर खोजबिन गर्दा धेरै घाइतेलाई सिभिल अस्पतालमा राखिएको थाहा पाएँ। त्यहाँ गएँ तर योगबहादुर भेटिएनन्। अस्पताल–अस्पताल चहार्दै गएँ। घाइते र शव दुवै हेर्न थाले। जब शिक्षण अस्पतालको शव घर पुगेँ, त्यहाँ योगबहादुरको शव भेटियो’, दाजु रामकृष्णले भने। घरका कान्छो छोरा योगबहादुरको सानैदेखि आमाबुबालाई खुसी र सुखी राख्ने सपना थियो। रामकृष्णका अनुसार योगबहादुर कुनै राजनीतिक दलमा आबद्ध थिएनन्। जेनजी आन्दोलनमा जानेबारे घरपरिवार कसैलाई जानकारी पनि थिएन। भदौ २३ गते काममा व्यस्त भएकाले रामकृष्णले दिउँसो मात्र फोन भाइलाई फोन गरेका थिए।
उनलाई योगबहादुर कोठामै छ होला भन्ने लाग्थ्यो। ‘तर अब उ त गइसक्यो। भाइको बलिदान खेर नजाओस् भन्ने परिवारको चाहना छ’ दाजु रामकृष्णले भने। सहिद परिवार व्यक्तिगत भन्दा पनि सामूहिक रूपमै अगाडि बढ्नुपर्ने रामकृष्णको धारणा छ। जेनजी आन्दोलनले चाहेजस्तो परिवर्तन हुनुपर्ने उनी बताउँछन्।
‘यति ठुलो बलिदान, पुरानै नेता र दललाई प्राथमिकता दिन भएको होइन, निर्वाचनबाट नयाँ शक्ति आउनै पर्छ’, उनले भने। जेनजी आन्दोलनको बलमा गठित सरकारले आगामी फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचन घोषणा गरेको छ।
निर्धारित मितिमै निर्वाचन सम्पन्न गराउन सरकारले राजनीतिक दल, जेनजी पुस्तासँग निरन्तर छलफल र संवादलाई अघि बढाइरहेको छ। जेनजी आन्दोलनमा ज्यान गुमाएकामध्ये ४५ जनालाई सरकारले जेनजी सुशासन योद्धा घोषणा गरेको छ। जेनजी सहिद परिवारलाई सरकारले राहतस्वरुप १५ लाख रूपैयाँ आर्थिक सहयोग गरिसकेकाे छ। सहिद परिवारलाई रोजगारी र जीविकोपार्जनका लागि मासिक भत्ता दिने योजना अघि बढाएको छ।





About Us
प्रतिक्रिया