नेपालको बैंकिङ्ग क्षेत्रमा उच्चपदस्थ गिरफ्तारीको इतिहासः कुन–कुन बैंकका अध्यक्ष र सीईओ पक्राउ परे ?


काठमाडौं – नेपालको बैंक तथा वित्तीय क्षेत्रमा ठगी, अनियमितता र अधिकार दुरुपयोगका घटनामा संस्थाकै उच्च तहका पदाधिकारीको संलग्नता पटक–पटक देखिँदै आएको छ। बैंकका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ) हरूले आफ्नो पद र अधिकारको दुरुपयोग गर्दा संस्थामै गम्भीर क्षति पुगेको र समग्र बैंकिङ्ग क्षेत्रको विश्वसनीयतामाथि प्रश्न उठेको छ।

नेपालका वाणिज्य बैंकदेखि विकास बैंक र सहकारी संस्थासम्मका अध्यक्ष तथा सीईओहरू कानुनी दायरामा तानिँदै आएका छन्। उच्च तहकै नेतृत्वका कारण कतिपय बैंकहरू धराशायी बनेका उदाहरणसमेत छन्। कर्णाली विकास बैंक, किस्ट बैंक र सेन्चुरी बैंक यसका ज्वलन्त उदाहरण हुन्।

नेपालको सबैभन्दा पुरानो बैंक नेपाल बैंकका तत्कालीन अध्यक्ष डा. चन्द्रबहादुर अधिकारीदेखि एक समय देशकै ठूलो ‘क’ वर्गको बैंक मानिने किस्ट बैंकका सीईओ तथा प्रभु बैंकका सीईओसमेत अनुसन्धानको दायरामा परिसकेका छन्।

कर्णाली विकास बैंकको प्रकरणमा बैंकका उच्च पदस्थ व्यक्तिहरूले बैंककै नाममा विभिन्न बैंकहरूबाट ऋण लिई रकम अपचलन गरेका थिए। उक्त बैंक हालसम्म पनि करिब १ अर्ब ५० करोड २२ लाख रुपैयाँ ऋणात्मक अवस्थामा छ। केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले यस प्रकरणमा १०९ जनालाई प्रतिवादी बनाएको थियो। बैंकका संस्थापक अध्यक्ष, पूर्व अध्यक्ष, वित्त शाखा प्रमुखदेखि राष्ट्र बैंकका पूर्वकर्मचारीसमेत घोटालामा संलग्न रहेको खुलेको थियो।

त्यसैगरी, एक समय ‘टप टेन’ बैंकको सूचीमा पर्ने किस्ट बैंक पनि बैंकका सीईओ कमल ज्ञवालीको नेतृत्वकालमै डुबेको थियो। किस्ट बैंकसँग मर्ज भएर बनेको प्रभु बैंक पनि पछि उच्च तहका कर्मचारीको अनियमितताका कारण विवादमा तानियो। बैंकिङ्ग कसुरको आरोपमा प्रभु बैंकका सीईओ अशोक शेरचनसहित माथिल्लो तहका चार जना पक्राउ परेका थिए।

यद्यपि, अनुसन्धानका लागि म्याद थप गर्ने क्रममा विशेष सरकारी वकिल कार्यालयले हाजिरी जमानीमा रिहा गर्न आदेश दिएपछि उनीहरू थुनामुक्त भएका थिए। सीआईबीका प्रवक्ता शिवकुमार श्रेष्ठका अनुसार उनीहरू रिहा भए पनि घटनाबारे अनुसन्धान भने अझै जारी छ।

नेपाल बैंक लिमिटेड
यस बैंकका तत्कालीन अध्यक्ष डा. चन्द्रबहादुर अधिकारीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको थियो। अख्तियारका अनुसार अधिकारीले रुपन्देहीको सिद्धार्थनगर–१ बेलहियास्थित भुसाल हस्पिटालिटी अन्तर्गतको रेडिसन होटल परियोजनाका लागि नेपाल बैंकबाट १ अर्ब ७७ करोड २९ लाख ८६ हजार ७ सय ६६ रुपैयाँ ऋण सहजीकरण गरिदिने भन्दै नगद १९ लाख रुपैयाँ घुस लिएका थिए। आयोगले गत जेठ २६ गते विशेष अदालतमा आरोपपत्र दायर गरेको हो।

प्रभु बैंक
यस बैंकमा बैंकिङ्ग कसुरसम्बन्धी मुद्दामा मंसिर १४ गते सीईओ अशोक शेरचन, डेपुटी सीईओ मनिराम पोखरेल, प्रमुख कर्जा अधिकृत रिवास श्रेष्ठ र रेमिट्यान्स विभागका प्रमुख सुजिन शाक्य पक्राउ परेका थिए । यस प्रकरणमा बैंकका पूर्व अध्यक्ष देवीप्रकाश भट्टचनलाई पनि सीआईबीले पक्राउ गरेको थियो । तर अनुसन्धान नसकिँदै हाजिरी जमानीमा रिहा गर्न आदेश आएपछि उनीहरू थुनामुक्त भएका थिए । भट्टचन हाल फरार छन् भने सीईओ शेरचनसहित अन्य चार जनामाथि अनुसन्धान जारी रहेको सीआईबीले जनाएको छ।

युनाइटेड विकास बैंक
युनाइटेड विकास बैंकका तत्कालीन अध्यक्ष रविन्द्रबहादुर सिंह २०६८ जेठ २२ गते बैंकिङ्ग कसुरमा पक्राउ परेका थिए। बैंकको २८ करोड रुपैयाँभन्दा बढी रकम हिनामिना गरेको आरोपमा उनीमाथि मुद्दा चलाइएको थियो।

कामना सेवा विकास बैंक
यस विकास बैंकका सीईओ प्रवीण बस्नेत २०७९ सालमा पक्राउ परे। कम धितोमा बढी ऋण प्रवाह गरेको आरोप लागेपछि बैंकले आन्तरिक अनुसन्धान गरेको थियो। समस्या देखिएपछि राष्ट्र बैंकसँग पत्राचार गर्दै प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) लाई अनुसन्धानका लागि आग्रह गरिएको थियो। घटना झापासँग सम्बन्धित भएकाले इलाका प्रहरी कार्यालय दमकले अनुसन्धान अघि बढाएको थियो।

किस्ट बैंक
आर्थिक अपराधकै कारण किस्ट बैंकका तत्कालीन प्रबन्ध निर्देशक कमल ज्ञवाली पनि पक्राउ परेका थिए । २०७२ देखि फरार रहेका ज्ञवालीलाई २०७५ सालमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले भारतबाट पक्राउ गरी नेपाल ल्याएको थियो।

गोर्खा विकास बैंक
गोर्खा विकास बैंकका तत्कालीन अध्यक्ष डीबी बम्जन ७० करोड रुपैयाँ ऋण परिचालनमा दुरुपयोग गरेको अभियोगमा दोषी ठहर भएका थिए ।

कर्णाली विकास बैंक
यस बैंकको चर्चित घोटाला प्रकरणमा बैंकका संस्थापक अध्यक्ष राजेन्द्रवीर राय, तत्कालीन अध्यक्ष पशुपति दयाल मिश्र, तत्कालीन वित्त प्रमुख वेदप्रकाश सिंह ठकुरी तथा नेपाल राष्ट्र बैंकका पूर्व अनुगमन अधिकृत भुवन बस्नेत पक्राउ परेका थिए। बैंकका उच्च पदस्थ व्यक्तिहरूले बैंककै नाममा विभिन्न बैंकबाट ऋण लिई रकम अपचलन गर्दा हालसम्म पनि कर्णाली विकास बैंक १ अर्ब ५० करोड २२ लाख रुपैयाँ ऋणात्मक अवस्थामा छ। सीआईबीले यस प्रकरणमा १०९ जनालाई प्रतिवादी बनाएको थियो।

सेन्चुरी बैंक
२०८० फागुनमा कमसल धितोमा बढी कर्जा प्रवाह गरेको आरोपमा तत्कालीन सेञ्चुरी बैंकका सीईओ मनोज न्यौपाने, तत्कालीन अध्यक्ष राजेशकुमार श्रेष्ठ र पूर्वसीईओ तुलसी गौतम पक्राउ परेका थिए। सेन्चुरी बैंक प्रभुमा मर्ज भैसके पछिउनीहरु पक्राउ परेका थिए। उनीहरुले सेन्चुरी बैंकमा रहँदा कमसल धितोमा दुई अर्ब ११ करोड ६५ लाख ५५ हजार रुपैयाँ बराबरको कर्जा प्रवाह गरेको अनुसन्धानबाट देखिएको थियो।

एच एन्ड बी डेभलपमेन्ट बैंक
सन् २०१४ मा एच एन्ड बी डेभलपमेन्ट बैंकका पूर्वप्रमुख कार्यकारी अधिकृत जसोदा सैंजु र पूर्वनिर्देशक पुष्पाज्योति ढुंगानालाई पक्राउ गरेको थियो।

सिद्धार्थ डेभलपमेन्ट बैंक
२०७७ सालमा प्रहरीले बैंकिङ्ग कसुर सम्बन्धी मुद्दामा सिद्धार्थ डेभलपमेन्ट बैंकका पूर्वसञ्चालक मधुसुदन सिलवाललाई पक्राउ गरेको थियो। सिलवालविरुद्ध दुईवटा बैंकिङ्ग कसुरका मुद्दा दायर भएकोमा एउटामा दुई वर्ष कैद र ३० लाख रुपैयाँ धरौटी जफत तथा अर्कोमा तीन वर्ष कैद र एक करोड रुपैयाँ जरिवाना सजाय तोकिएको थियो। साथै, बैंकका सञ्चालक समिति अध्यक्ष शेखर अर्याल पनि २०७० मा पक्राउ परेका थिए।