राष्ट्र बैंकद्वारा आजपनि १० अर्बको ऋणपत्र जारी


काठमाडौं – नेपाल राष्ट्र बैंकले बैंकिङ्ग प्रणालीमा अत्यधिक तरलता थुप्रिएसँगै पछिल्लो चरण लगातार रुपमा ऋणपत्र निष्काशन गरिरहेको छ । सोहि क्रममा आजपनि केन्द्रीय बैंकले १० अर्बको ऋणपत्र जारी गरेको हो ।

केन्द्रीय बैंकले नेपाल राष्ट्र बैंक ऋणपत्र २०८३ ‘च’ नामक ऋणपत्र १ वर्ष अवधिको बोलकबोल तथा निष्कासन गर्ने भएको हो । यस ऋणपत्रमा बैंक तथा वित्तीय संस्थाले न्यूनतम ५ करोड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्नसक्नेछन् ।

यस ऋणपत्रको बोलकबोल ब्याजदरमा गर्नुपर्नेछ । बहुब्याजदरमा पनि बोलकबोल गर्न सकिनेछ । आह्वान गरिएको ऋणपत्रको रकम बाँडफाँट गर्दा बोलकबोलको ब्याजदरलाई सानोदेखि ठूलो क्रममा राखी आह्वान रकमसम्म वा समितिले निर्धारण गरेको बाँडफाँट रकमसम्मको विन्दुमा कायम हुने ब्याजदरलाई एकल ब्याजदर कायम गरी सोही एकल ब्याजदरमा सो दर र सो दरभन्दा कम बोलवालालाई नेपाल राष्ट्र बैंक ऋणपत्र बिक्री गरिने केन्द्रीय बैंकले जनाएको छ ।

ऋणपत्र निष्कासन मितिमा काउण्टरपार्टीको खातामा पर्याप्त मौज्दात नभएमा त्यस्ता काउण्टरपार्टीको स्वीकृत बोल रकम रद्द गरी सोको २.५० प्रतिशत दरको हर्जाना सहित ६ महिनासम्म खुला बजार कारोबार तथा ब्याजदर करिडोर अन्तर्गतका कुनै पनि बोलकबोलमा सहभागी हुन बन्देज लगाइने उल्लेख छ ।