बैंकिङ्ग प्रणालीमा अत्यधिक तरलता थुप्रिदा राष्ट्र बैंकले जारी गर्यो २५ अर्बको ऋणपत्र


काठमाडौं – नेपाल राष्ट्र बैंकले आजपनि २५ अर्बको ऋणपत्र जारी गरेको छ । बैंकिङ्ग प्रणालीमा लगानीयोग्य रकम थुप्रिदै जाँदा केन्द्रीय बैंकले १ वर्ष अवधिको ऋणपत्र जारी गरेको हो ।

केन्द्रीय बैंकले ऋणपत्र जारी गर्दै बैंक तथा वित्तीय संस्थासँग प्रस्ताव माग गरेको छ । केन्द्रीय बैंकले नेपाल राष्ट्र बैंक ऋणपत्र २०८३ ‘घ’ नामक ऋणपत्र जारी गर्न लागेको हो । यस ऋणपत्रको ब्याजदर बोलकबोलको माध्यमबाट निर्धारण हुनेछ भने साँवा भुक्तानी २०८३ पुस २२ गते हुनेछ ।

ब्याज भुक्तानी अर्धवार्षिक रुपमा हुने यस ऋणपत्रमा बैंक तथा वित्तीय संस्थाले न्यूनतम ५ करोड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म आवेदन दिन सक्नेछन् । ऋणपत्रको बोलकबोल ब्याजदरमा गर्नुपर्नेछ भने बहुब्याजदरमा पनि बोलकबोल गर्न सकिनेछ ।

आह्वान गरिएको ऋणपत्रको रकम बाँडफाँट गर्दा बोलकबोलको ब्याजदरलाई सानोदेखि ठूलो क्रममा राखी आह्वान रकमसम्म वा समितिले निर्धारण गरेको बाँडफाँट रकमसम्मको विन्दुमा कायम हुने ब्याजदरलाई एकल ब्याजदर कायम गरी सोही एकल ब्याजदरमा सो दर र सो दरभन्दा कम बोलवालालाई नेपाल राष्ट्र बैंक ऋणपत्र बिक्री गरिने उल्लेख छ ।