सिद्धार्थ प्रिमियर इन्स्योरेन्सद्वारा भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ करोड बढी सहयोग


काठमाडौं – गत भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा क्षतिग्रस्त भौतिक संरचनाहरुको पुनर्निर्माण, आर्थिक पुनरुत्थान तथा राहत लगायतका कार्यमा सहयोग पुर्याउने उद्देश्यले सिद्धार्थ प्रिमियर ईन्स्योरेन्स लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत नेपाल सरकारले स्थापना गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ करोड १ लाख सहयोग गरेको छ ।

उक्त रकम बराबरको चेक सिद्धार्थ प्रिमियर इन्स्योरेन्सका अध्यक्ष सुरेशलाल श्रेष्ठले आज अर्थ मन्त्रालयमा अर्थमन्त्री रामेश्वर खनाललाई हस्तान्तरण गरेका हुन् । सो अवसरमा अर्थ सचिव, राजस्व सचिव लगायत सिद्धार्थ प्रिमियर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत समेतको उपस्थिति रहेको थियो । भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा पुर्याएको योगदानका लागि सरकारको तर्फबाट अर्थमन्त्री खनालले सिद्धार्थ प्रिमियर इन्स्योरेन्सलाई धन्यवाद ज्ञापन गरे ।

सरकारले निर्माण गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा आजसम्म १३ करोड ३५ लाख ६५ हजार जम्मा भएको छ ।