राष्ट्र बैंकको अध्ययन: नेपालमा क्रिप्टोकरेन्सी जस्ता अभौतिक सम्पत्ति आपराधिक क्रियाकलापसँग जोडियो


काठमाडौं – नेपालमा क्रिप्टोकरेन्सीलगायतका अभौतिक सम्पत्तिको कारोबार कानुनले निषेधित गरेपनि आपराधिक क्रियाकलापसँग जोडिएर हुने गरेको नेपाल राष्ट्र बैंकको एक अध्ययनले देखाएको छ। केन्द्रिय बैंकको वित्तीय सूचना एकाइले तयार पारेको भर्चुअल एसेट सम्बन्धी रणनीतिक प्रतिवेदन, २०२५ सार्वजनिक गर्दै यस्तो तथ्य बाहिर ल्याएको हो।

अध्ययन प्रतिवेदनमा भनिएको छ, ‘नेपालमा भर्चुअल एसेट्स सम्बन्धी गतिविधि कानुनी रुपमा निषेधित भए तापनि त्यस्ता गतिविधहरू अवैध वैदेशिक विनिमय कारोबार (हुन्डी कारोबार), अनलाइन वित्तीय ठगी, अनलाइद्द जुवा, व्यवसायको वास्तपविक प्रकृति लुकाई गरिने कारोबार, तथा मनीम्युलको प्रयोग जस्ता आपराधिक क्रियाकलापसँग जोडिएर हुने गरेको विश्लेषणले देखाएको छ।’ यस्ता गतिविधिले औपचारिक वित्तीय प्रणालीलाई छल्दै सीमापार मूल्य स्थानान्तरण, तहगत कारोबार तथा अवैध आम्दानी लुकाउनेकार्यलाई सहज बनाउन सक्ने जोखिम रहेको अध्ययनले देखाएको छ।

प्रतिवेदनले भर्चुअल एसेट सम्बन्धी अनुसन्धान तथा नियन्त्रणमा देखिएका प्रमुख चुनौतीहरू जस्तैः प्राविधिक जटिलता, सीमापार अधिकार क्षेत्रका समस्या तथा भर्चुअल एसेट जफत र व्यवस्थापनसम्बन्धी व्यवहारिक कठिनाइलाई समेत उजागर गरेको छ। अध्ययनको निष्कर्षका आधारमा प्रतिवेदनले सूचक संस्थाहरू, नियामक/सुपरिवेक्षक निकाय तथा कानुन कार्यान्वयन गर्ने निकायका लागि लक्षित सुझावहरू प्रस्तुत गरेको छ।

नेपालमा भर्चुअल एसेट सम्बन्धी कुनैपनि किसिमको कारोबार, प्रयोग, स्थानान्तरण वा लगानी प्रचलित कानुनबमोजिम पूर्ण रूपमा निषेधित छ। यस्ता गतिविधिमा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा संलग्न व्यक्ति वा संस्थाविरुद्ध सम्बन्धित कानुनअनुसार अनुसन्धान, रोक्का/जफत तथा अभियोजन प्रक्रिया अघि बढ्नसक्ने ब्यहोरालाई प्रतिवेदनले स्पष्ट पारेको छ।

जोखिमको पहिचान, नीतिगत निर्णय, नियामकीय निगरानी, अनुसन्धानको प्राथमिकता निर्धारण तथा सूचक संस्थाहरू र कानुन कार्यान्वयन गर्ने निकायको क्षमता अभिवृद्धिमा सन्दर्भ सामग्रीको हुनसक्ने प्रतिवेदनले जनाएको छ।