काठमाडौं – सामाजिक सञ्जाल नेपाली समाजको दैनिकी बनेको छ। सूचना आदानप्रदानदेखि मित्रता र व्यवसायसम्म फैलिएको यो डिजिटल संसार अहिले ठगहरूको खेलमैदानजस्तै बन्दै गएको छ। पछिल्लो समय कलाकार, सार्वजनिक व्यक्तित्व र नेताहरूको नाम र तस्बिर प्रयोग गरेर रकम माग्ने ठगीका घटनाले सामाजिक सञ्जाल प्रयोगकर्तालाई हैरान बनाएको छ। एक समय सर्वसाधारण मात्र ठगीको निशानामा पर्थे। तर, अहिले ठगहरूको नजर चर्चित अनुहारतर्फ सरेको छ।
पछिल्लो एक महिनामै दर्जनौँ कलाकारहरूले आफ्नो नाम र फोटो दुरुपयोग गर्दै पैसा मागिएको भन्दै सामाजिक सञ्जालमार्फत चेतावनी दिएका छन्। फेसबुक म्यासेन्जरमा आकस्मिक समस्या परेको बहाना, ह्वाट्सएप वा इन्स्टाग्राममा ‘इमर्जेन्सी’को नाममा सहयोगको अपिल राखेर ठगी हुने गरेको पाइएको छ। प्रोफाइलमा चिनजानकै अनुहार देख्दा धेरैजसो मानिस झुक्किने गरेका छन्।
- सामाजिक सञ्जालबाट ठगिएको उजुरी:
- ०७९/८० मा १ हजार ८ सय १५ वटा
- ०८०/८१ मा ४ हजार १ सय ३३ वटा
- ०८१/८२ मा ७ हजार ७ सय २४ वटा
- ०८२/८३ मंसिरसम्म २ हजार ९ सय वटा
अझ चिन्ताको विषय के छ भने, स्क्यामरहरू दिनानुदिन प्राविधिक रूपमा सक्षम बन्दै गएका छन्। उनीहरूले सार्वजनिक व्यक्तिको वास्तविक पोस्ट, भाषाशैली र तस्बिरको नक्कल गर्छन्। कतिपय अवस्थामा नक्कली एकाउन्टबाट वास्तविक एकाउन्टलाई ट्याग गरेर विश्वास जित्ने प्रयाससमेत गर्छन्। नेपाल प्रहरीको साइबर ब्युरोमा यस्ता ठगीसम्बन्धी उजुरीहरू बढ्दो क्रममा छन्।
एक समय सर्वसाधारण मात्र ठगीको निशानामा पर्थे। तर, अहिले ठगहरूको नजर चर्चित अनुहारतर्फ सरेको छ।
ब्युरोका प्रवक्ता दीपकराज अवस्थीका अनुसार कलाकारदेखि सर्वसाधारणसम्म यस्ता उजुरी ठुलो संख्यामा आउने गरेका छन्। ‘प्रहरीका लागि सर्वसाधारण र सेलिब्रेटी दुवै बराबर हुन्। कलाकारका लागि भनेर छुट्टै अनुसन्धान हुँदैन, सबै उजुरीमा समान रूपमा अनुसन्धान हुन्छ,’ प्रवक्ता अवस्थीले भने। उनकाअनुसार ठगहरूले प्रायः प्रतिष्ठित व्यक्तिहरूको तस्बिर दुरुपयोग गरी फेक एकाउन्ट बनाउने र त्यसमार्फत पैसा माग्ने गरेका छन्। यस्तो अवस्थामा रकम पठाउनु अघि फोन गरेर, प्रत्यक्ष भेटेर वा अन्य माध्यमबाट साँच्चिकै पैसा चाहिएको हो कि होइन भन्ने कुरा पुष्टि गर्न उनले आग्रह गरे।

ठगी बढेपछि कलाकारहरू आफैँ सामाजिक सञ्जालमा चेतावनी दिन थालेका छन्। नायिका स्वस्तिमा खड्काले आफ्नो नाम प्रयोग गरी व्हाट्सएप र भाइबरमा पैसा मागिएको भन्दै यस्ता सन्देशमा नझुक्किन आग्रह गरेकी थिइन्। अभिनेता अनमोल केसीले पनि आफूले कसैसँग म्यासेज वा फोनमार्फत पैसा नमागेको स्पष्ट गर्दै नक्कली खातालाई रिपोर्ट र ब्लक गर्न अनुरोध गरेका छन्।
अझ चिन्ताको विषय के छ भने, स्क्यामरहरू दिनानुदिन प्राविधिक रूपमा सक्षम बन्दै गएका छन्। उनीहरूले सार्वजनिक व्यक्तिको वास्तविक पोस्ट, भाषाशैली र तस्बिरको नक्कल गर्छन्।
त्यस्तै, काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले आफ्नो नाम र फोटो दुरुपयोग गरी फेक ह्वाट्सएप एकाउन्ट बनाइएको जानकारी दिएकी छन्। अज्ञात व्यक्तिले ९७००४४५३७५ नम्बर प्रयोग गरी विभिन्न व्यक्तिलाई आर्थिक सहयोग मागिरहेको उनले बताएकी छन्। केकी अधिकारी, रिमा विश्वकर्मा, आकाश श्रेष्ठ, धिरज मगर, पूर्व मिस नेपाल सदिक्षा श्रेष्ठ, जोन राईलगायत धेरै सेलिब्रेटीहरूले पनि आफ्नो नाम र तस्बिर प्रयोग गरी ठगी भइरहेको बताएका छन्।
चलचित्र विकास बोर्डको चेतावनी
चलचित्र विकास बोर्डले समेत कलाकार र चलचित्रकर्मीको तस्बिर प्रयोग गरी नक्कली आइडी बनाउने, वास्तविक एकाउन्ट ह्याक गर्ने र पैसा माग्ने ठगी बढ्दै गएको जनाएको छ। बोर्डका अनुसार यस्ता घटनाबाट कलाकार मात्र होइन, उनका साथीभाइ, शुभचिन्तक र सर्वसाधारणसमेत पीडित भइरहेका छन्।

बोर्डले सबै कलाकार तथा चलचित्रकर्मीलाई सामाजिक सञ्जाल खातामा बलियो पासवर्ड प्रयोग गर्न र ‘टु–फ्याक्टर अथेन्टिकेसन’ (दुई चरणको पुस्ट्याइँ गर्ने माध्यम) अनिवार्य रूपमा सक्रिय गर्न आग्रह गरेको छ। साथै, कलाकारको नाममा कसैले पैसा मागेमा वास्तविक व्यक्ति हो भनी पुष्टि नगरी कुनै पनि रकम नपठाउन अनुरोध गरेको छ।
उजुरीका चाङ
सामाजिक सञ्जालको प्रयोग गदैँ ठगी गर्नेको संख्या वर्षेनी बढ्दो क्रममा छ। साइबर ब्युरोमा आर्थिक वर्ष (आव) ०७९/८० मा सामाजिक सञ्जालबाट ठगीएको १ हजार ८ सय १५ वटा उजुरी दर्ता भएका थिए। आव ८०/८१ मा ४ हजार १ सय ३३ वटा उजुरी ब्युरोमा दर्ता भएको थियो। साथै, गत आव ८१/८२ मा ७ हजार ७ सय २४ वटा उजुरी ब्युरोमा दर्ता भएको थियो । चालु आव ०८२/८३ हाल सम्ममा ब्युरोमा २ हजार ९ सय उजुरी दर्ता भैसकेका प्रवक्ता अवस्थीले जानकारी दिए ।
अर्काको फोटो दुरुपयोग गर्दा के कसुर हुन्छ ?
मुलुकी अपराध संहिता ऐन २०७४ को भाग ३ मा वैयक्तिक गोपनीयता तथा प्रतिष्ठाविरुद्धको कसुर अन्तर्गत २९६ धारा अनुमति विना एकको तस्बिर अरूलाई दिन वा बिक्री गर्न नहुने उल्लेख छ। यदि कुनै व्यक्तिको फोटो दुरुपयोग गरेमा तीन वर्षसम्म कैद वा तीस हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनेछ व्यवस्था गरिएको छ।





About Us
प्रतिक्रिया