राष्ट्र बैंकको ऋणपत्रमा मागभन्दा दोब्बर आवेदन


काठमाडौं – नेपाल राष्ट्र बैंकले हिजो अर्थात् पुस १६ गते निष्काशन गरेको ऋणपत्रमा पनि दोब्बर आवेदन परेको छ । केन्द्रीय बैंकले हिजो २५ अर्बको ऋणपत्र निष्काशन गरेकोमा बैंक तथा वित्तीय संस्थाले ५१ अर्ब बढीको लागी आवेदन दिएका हुन् ।

केन्द्रीय बैंकले यसअघि निष्काशन गरेको ऋणपत्रमा पनि मागभन्दा बढीका लागी आवेदन परेको थियो । पुस १४ गते निष्काशन गरिएको ऋणपत्रमा वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरूले सो ऋणपत्रका लागि १ खर्ब २० अर्ब ५५ करोड रुपैयाँ बराबरको आवेदन दिएका थिए ।

अत्यधिक तरलता हुँदा चिन्तित बनेका बैंक तथा वित्तीय संस्थाले थोरै ब्याजदरमा पनि केन्द्रीय बैंकको ऋणपत्रमा लगानी गर्न लागेका हुन् । यता, नेपाल राष्ट्र बैंकले बैंकिङ्ग क्षेत्रको लगानीयोग्य रकम केही समय नघट्ने देखेपछि निक्षेप संकलन उपकरण र स्थायी निक्षेप सुविधा उपकरणमार्फत बैंकिङ्ग प्रणालीबाट पैसा उठाउँदै आएकोमा दीर्घकालीन व्यवस्थापनका लागि ऋणपत्र जारी गर्न थालेको हो ।

बैंक तथा वित्तीय संस्थाबाट कर्जा लगानी विस्तार हुन नसक्दा बैंकिङ्ग क्षेत्रमा तरलता व्यवस्थापन नै चुनौतीपूर्ण बन्दै गएको छ।