काठमाडौं – पछिल्लो समय शेयर बजारमा कारोबार घट्दै जाँदा सरकारले शेयर कारोबारबाट उठाउँदै आएको पूँजीगत लाभकर संकलन उल्लेख्य रूपमा खस्किएको छ। चालु आर्थिक वर्ष ०८२/८३ मा अघिल्लो वर्षको तुलनामा शेयर कारोबार कमजोर बन्दा त्यसको प्रत्यक्ष असर पूँजीगत लाभकरमा परेको हो।
चालु आर्थिक वर्ष ०८२/८३ मा मंसिरसम्मको कुल पूँजीगत लाभकर संकलन ४ अर्ब १ करोड रुपैयाँ पुगेको छ। आव ०८१/८२ को मंसिरसम्म कुल ९ अर्ब २० करोड ३२ लाख रुपैयाँ पूँजीगत लाभकर संकलन भएको आन्तरिक राजस्व विभागको तथ्यांकले देखाउँछ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा देखिएको कारोबारको गिरावट, लगानीकर्ताको घट्दो सक्रियता तथा बजारप्रतिको मनोवैज्ञानिक अन्योलताले शेयर बजार कमजोर देखिएको हो। यसका कारण अल्पकालीन र दीर्घकालीन शेयर कारोबारबाट उठ्ने दुवै प्रकारका पूँजीगत लाभकर संकलन प्रभावित बनेको छ ।
मंसिर महिनामा मात्र ६२ करोड संकलन
आन्तरिक राजस्व विभागको तथ्यांकअनुसार चालु आर्थिक वर्ष २०८२/८३ को मंसिर महिनामा मात्र ६२ करोड ९८ लाख २० हजार रुपैयाँ पूँजीगत लाभकर संकलन भएको छ। जबकि अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा मंसिर महिनामा मात्रै १ अर्ब ४ करोड रुपैयाँ पूँजीगत लाभकर उठेको थियो। यस अवधिमा सबैभन्दा धेरै राजस्व व्यक्तिगत अल्पकालीन करोबारको पूँजीगत लाभकरबाट उठेको छ।

विभागका अनुसार मंसिर महिनामा व्यक्तिगत अल्पकालीन पूँजीगत लाभकरबाट ४१ करोड ४३ लाख रुपैयाँ संकलन भएको छ। तर, व्यक्तिगत दीर्घकालीन कारोबारतर्फको पूँजीगत लाभकर भने १७ करोड १ लाख रुपैयाँमा सीमित रहेको छ। पछिल्ला वर्षहरूको तथ्यांक हेर्दा आर्थिक वर्ष ०८१/८२ मा पूँजीगत लाभकर संकलन अघिल्लो वर्षको तुलनामा झन्डै दोब्बरले वृद्धि भएको देखिन्छ।
आव ०८०/८१ मा शेयर बजारबाट २२ अर्ब रुपैयाँ पूँजीगत लाभकर संकलन भएको थियो। आव २०८१/८२ मा यो रकम बढेर ४० अर्ब ११ करोड रुपैयाँ पुगेको थियो। त्यस्तै, आव २०७८/७९ मा ३० अर्ब ६७ करोड रुपैयाँ र आव ०७९/८० मा १६ अर्ब ५७ करोड रुपैयाँ पूँजीगत लाभकर संकलन भएको थियो ।





About Us
प्रतिक्रिया