काठमाडौं – बैंकिङ्ग क्षेत्रमा पैसा थुप्रिने क्रम नरोकिँदा नेपाल राष्ट्र बैंकले आज अर्थात् पुस १६ गते २५ अर्बको नेपाल राष्ट्र बैंक ऋणपत्र जारी गरेको छ । केन्द्रीय बैंकले १ वर्ष अवधिको लागि नेपाल राष्ट्र बैंक ऋणपत्रको बोलकबोल तथा निष्कासन गर्ने भएकोले हो ।
राष्ट्र बैंकले निष्काशन गरेको सो ऋणपत्रको नाम नेपाल राष्ट्र बैंक ऋणपत्र २०८३ ‘ख’ रहेको छ । सो ऋणपत्रको ब्याजदर बोलकबोलको माध्यमबाट निर्धारण हुनेछ भने साँवा भुक्तानी २०८३ पुस १६ गते र ब्याज भुक्तानी अर्धवार्षिक हुने केन्द्रीय बैंकले जनाएको छ ।
ऋणपत्रको बोलकबोल ब्याजदरमा गर्नुपर्नेछ । बहुब्याजदरमा पनि बोलकबोल गर्न सकिनेछ । यस ऋणपत्रको बोलकबोलमा वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनी सहभागी हुन पाउने छन् ।
आह्वान गरिएको ऋणपत्रको रकम बाँडफाँट गर्दा बोलकबोलको ब्याजदरलाई सानोदेखि ठूलो क्रममा राखी आह्वान रकमसम्म वा समितिले निर्धारण गरेको बाँडफाँट रकमसम्मको विन्दुमा कायम हुने ब्याजदरलाई एकल ब्याजदर कायम गरी सोही एकल ब्याजदरमा सो दर र सो दरभन्दा कम बोलवालालाई नेपाल राष्ट्र बैंक ऋणपत्र बिक्री गरिने केन्द्रीय बैंकले उल्लेख गरेको छ ।
राष्ट्र बैंकले गत पुस १४ गते पनि केन्द्रीय बैंकले २५ अर्बको १ वर्षे नेपाल राष्ट्र बैंक ऋणपत्र निष्कासन गरेको थियो ।





About Us
प्रतिक्रिया