नेपाल लाइफ समृद्धि लगानी योजना नामक सामूहिक लगानी कोष सेबोनद्वारा स्वीकृत


काठमाडौं – नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड प्रवर्द्धक र नेपाल लाइफ क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको ‘नेपाल लाइफ समृद्धि लगानी योजना’ सामूहिक लगानी कोषलाई नेपाल धितोपत्र बोर्डले स्वीकृति दिएको छ।

यस अन्तर्गत प्रति इकाई अंकित मूल्य १० दरका १६ करोड रूपैयाँ इकाई जारी गरिनेछ। जसबाट कुल १ अर्ब ६० करोड रुपैयाँ बराबरको फण्ड संकलन हुने कम्पनीले जनाएको छ। यो नेपाल लाइफ इन्स्योरेन्सको पहिलो बन्दमुखी योजना हो, जसको अवधि १० वर्ष रहनेछ।

योजना व्यवस्थापकले सम्पूर्ण प्रक्रिया पूरा भइसकेको र चाँडै नै सर्वसाधारणका लागि इकाई बिक्री खुला गर्ने जानकारी दिएको छ। कोष प्रवर्द्धक − नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले फण्ड बिक्रीबाट संकलित रकम धितोपत्र बोर्डमा दर्ता भएको धितोपत्र, सार्वजनिक निष्काशन भएको धितोपत्र, धितोपत्र बजारमा सूचीकृत धितोपत्र, बैंक निक्षेप, मुद्रा बजार उपकरण, नेपाल सरकारले जारी गरेका वा नियन्त्रणमा रहेको कुनै संस्थाले जारी गरेको ऋणपत्र, ट्रेजरी विल तथा मुद्रा बजारका अन्य साधनहरुमा निष्काशन पश्चात् लगानी गर्ने कम्पनीले उल्लेख गरेको छ ।