राष्ट्र बैंकले आइतबार पनि बैंकिङ्ग प्रणालीबाट २० अर्ब तरलता खिच्ने


काठमाडौं – नेपाल राष्ट्र बैंकले बैंकिङ्ग प्रणालीबाट पुनः २० अर्ब तरलता खिच्ने भएको छ। बुधबार २५ अर्बको निक्षेप संकलन उपकरण बोलकबोल गरेको केन्द्रीय बैंकले आज पुनः २० अर्ब रुपैयाँको निक्षेप संकलन उपकरण बोलकबोल गर्ने भएको हो। यसका लागि २ बजे बाेलकबाेल गरिने केन्द्रीय बैंकले जनाएकाे छ।

निक्षेप संकलन उपकरण बोलकबोल मार्फत १२ दिन अवधिका लागि २० अर्ब रुपैयाँ तरलता खिच्न लागिएको राष्ट्र बैंक मौद्रिक व्यवस्थापन विभागले जनाएको छ। निक्षेप संकलन उपकरणको पुस २५ गते साँवा तथा ब्याज भुक्तानी गर्ने राष्ट्र बैंकले जनाएको छ।

बोलकबोलको माध्यमबाट ब्याजदर निर्धारण हुनेछ। राष्ट्र बैंक बाहेक अन्य बैंक तथा वित्तीय संस्थामा धितोको रुपमा प्रयोग गर्न सकिने छ। उक्त निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्नेछन्।

निक्षेप संकलनको बोलकबोल ब्याजदरमा हुनेछ। साथै, बहुब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिने छ। निक्षेप संकलन उपकरणको बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउनेछन्।

पुस लागेसँगै केन्द्रीय बैंकले चाैथाे पटक तरलता प्रशाेचन गर्न लागेकाे हाे। यसअगाडि बैंकले पुस २ गते, ६ गते २० अर्ब रूपैयाँ र ९ गते २५ अर्ब रूपैयाँ तरलता तानेकाे थियाे।