काठमाडौं – उपत्यकाको विभिन्न स्थान र मितिमा चोरी भएका ६० वटा दुई पाङ्ग्रे सवारी साधन फेला पारी ट्राफिक प्रहरीले शुक्रवार सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा आयोजित एक कार्यक्रमबीच काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक ईश्वर कार्की र काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले संयुक्त रूपमा ३४ वटा मोटरसाइकल र २६ वटा स्कुटर सम्बन्धित धनीलाई हस्तान्तरण गरेका हुन्।
विभिन्न मितिमा प्राप्त निवेदनका आधारमा खोजी गर्ने क्रममा केहीमा वास्तविक नम्बर प्लेट र केहीमा नक्कली नम्बर प्लेट राखेको अवस्थामा काठमाडौं उपत्यकाको काडाँघारी, पुल्चोक, स्वयम्भू, दरबारमार्ग, चापागाउँ, नेपालटार, टोखा, नयाँबसपार्क, बालकुमारी, भाटभटेनी भक्तपुर, लोकन्थली, नाला बनेपा, बसन्तपुर, कीर्तिपुर, ताथली, बौद्ध, सिनामंगल, थानकोट, सोह्रखुट्टे, कपन, सुडाल र जरङ्खु लगायतका स्थानबाट उक्त सवारी साधन ट्राफिक प्रहरीले फेला पारेको हो।
चालु आर्थिक वर्षको हालसम्म ट्राफिक प्रहरीले आज बुझाइएका ६० वटासहित १ सय ८१ वटा सवारी साधन सम्बन्धित धनीलाई जिम्मा लगाइसकेको छ। चोरीका १३ ओटा दुई पाङ्ग्रे सवारी साधनसहित चोरीमा संलग्न २५ जना व्यक्तिहरूलाई पनि नियन्त्रणमा लिएर आवश्यक कारबाहीका लागि विभिन्न प्रहरी परिसर तथा प्रहरी वृत्तमा पठाइएको छ।
आर्थिक वर्ष २०८०/०८१ मा ४ सय १७ वटा र ०८१/०८२ मा ५ सय ३ वटा दुई पाङ्ग्रे सवारी साधन खोजतलास गरी ट्राफिक प्रहरीले सम्बन्धित धनीलाई जिम्मा लगाएको छ। सवारी साधन चोरी तथा हराउनबाट रोक्न आफ्नो सवारी साधन सुरक्षित स्थानमा पार्किङ गरी ह्वील लक, चेन लक, ह्यान्डिल लक, डिस्क लक लगायत सुरक्षा साइरनहरू जडान गर्न साथै मानिसहरूको आवत–जावत नहुने एकान्त स्थानमा सवारी साधन पार्किङ नगर्न ट्राफिक प्रहरीले अनुरोध गरेको छ।
सवारी साधन हराएमा ट्राफिक प्रहरीको हटलाइन नम्बर १०३, नेपाल प्रहरीको हटलाइन नम्बर १०० मा फोन गर्न र नजिकको प्रहरी कार्यालयमा निवेदन दिन सकिने छ।





About Us
प्रतिक्रिया