काठमाडौं – करिब दुई वर्षअघि बेलायतको प्रतिष्ठित वित्तीय पत्रिका द बैंकर बाट ‘बैंक अफ द इयर २०२३’को सम्मान पाएको प्रभु बैंक आज गम्भीर संकटको घेरामा छ । बैंकका सञ्चालक र उच्च तहका व्यवस्थापकहरू कर्जा अपचलन र बैंकिङ्ग कसुरमा क्रमशः पक्राउ पर्न थालेपछि प्रभु बैंकको छवि मात्र होइन, नेपालको समग्र बैंकिङ्ग सुशासनमाथि नै गहिरो प्रश्न उठ्न थालेको छ ।
यो दृश्य नेपालका लागि नयाँ भने होइन । एक दशकअघि किष्ट बैंक लिमिटेड पनि यस्तै सफलताको शिखरमा थियो । आक्रामक विस्तार, ठूला कर्जा प्रवाह र प्रभावशाली नेटवर्कका कारण किष्ट बैंकलाई कुनै समय नेपालको अग्रणी बैंकका रूपमा लिइन्थ्यो । तर, कमजोर सुशासन, नियमनको अवहेलना र व्यक्तिगत स्वार्थले अन्ततः किष्ट बैंकलाई ऋण घोटाला र खराब कर्जाको दलदलमा फसायो । परिणामस्वरूप, कहिल्यै नढल्ने ठानिएको किष्ट बैंक इतिहासको पानामा सीमित हुन पुग्यो ।
सन् २०१४ मा किष्ट बैंक, प्रभु विकास बैंक, गौरीशंकर विकास बैंक र जेनिथ फाइनान्स गाभिएर प्रभु बैंकको स्थापना भएको थियो । मर्जरको मुख्य उद्देश्य बैंकिङ्ग क्षेत्रलाई सुदृढ बनाउने, जोखिम घटाउने र वित्तीय स्थायित्व कायम गर्ने थियो । त्यतिबेला धेरैले प्रभु बैंकलाई ‘नयाँ युगको सुरक्षित बैंक’का रूपमा हेरेका थिए । तर, एक दशक नपुग्दै प्रभु बैंकको अवस्था किष्ट बैंकको विगतसँग तुलना हुन थालेको छ । मर्जरपछि बलियो बन्ने अपेक्षा गरिएको बैंक किन फेरि संकटतर्फ उन्मुख भयो भन्ने प्रश्नले अहिले वित्तीय क्षेत्र तताएको छ ।
ऋण घोटाला र पक्राउको शृङ्खला
प्रभु बैंकमा देखिएको संकटको केन्द्रमा कर्जा अपचलनको गम्भीर आरोप छ। केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले हालसम्म बैंकका कार्यकारी अधिकृत अशोक शेरचन, डेपुटी प्रमुख कार्यकारी अधिकृत मनिराम पोखरेल, प्रमुख कर्जा अधिकृत रिवास श्रेष्ठ, गुण एअरलाईन्सका सञ्चालक राजेन्द्र शाक्य र रेमिटेन्स शाखा प्रमुख सुजित शाक्यलाई पक्राउ गरिसकेको छ ।
सीआईबीकाअनुसार अनुसन्धानका क्रममा प्रभु बैंकको १ अर्ब रुपैयाँभन्दा बढी रकम अपचलन भएको प्रारम्भिक तथ्य खुलेको छ। बैंकिङ कसुर सम्बन्धी उजुरी एक वर्षअघि नै परे पनि बैंक जाडिएकाले अनुसन्धान ढिलो अघि बढेको बताइन्छ। पछि उच्च अदालत पाटनबाट पक्राउ अनुमति लिएर सीआईबीले कारबाही तीव्र बनाएको हो ।
सीआईबीका प्रवक्ता शिवकुमार श्रेष्ठकाअनुसार प्रभु बैंकका सीईओ शेरचनले राष्ट्र बैंकको निर्देशन र प्रचलित कानुनविपरीत बैंकलाई हानी हुने गरी कर्जा प्रवाह गरेका छन्। कर्जा लुकाउन विभिन्न कम्पनीको नाममा करोडौं रुपैयाँ प्रवाह गरी दुरुपयोग गरिएको प्रारम्भिक निष्कर्ष सीआईबीको छ ।
किष्ट बैंकको इतिहास दोहोरिने जाेखिम
प्रभु बैंकमा आजको अवस्था हेर्दा किष्ट बैंकको पतनको इतिहासको पुनरावृत्ति हुने जाेखिम बढेकाे छ । किष्ट बैंकको उधाेगति कमजोर नियमन, आन्तरिक नियन्त्रणको अभाव र शक्तिको दुरुपयोगको परिणाम थियो ।
किष्ट बैंकका तत्कालीन सीईओ कमलप्रसाद ज्ञवाली एक समय सफल बैंकरको प्रतीक मानिन्थे । तर, जम्को प्रकाशनका नाममा किष्ट बैंक र सिद्धार्थ डेभलपमेन्ट बैंकबाट ऋण लिएर दुरुपयोग गरेको रहस्य खुलेपछि उनको छवि पूर्ण रूपमा ध्वस्त भयो । कमसल धितो मूल्याङ्कन गरेर करोडौं रुपैयाँ कर्जा प्रवाह गरिएको, आफन्त संलग्न संस्थालाई ऋण दिएर घरजग्गामा लगानी गरिएको जस्ता अभियोगमा उनी दोषी ठहर भए ।
काठमाडौं जिल्ला अदालतले किर्ते जालसाजी मुद्दामा जरिवाना तिराउने आदेश दिएको थियो भने पछि पाटन पुनरावेदन अदालतले बैंकिङ कसुरमा चार वर्ष कैद र चार करोडभन्दा बढी जरिवानाको फैसला सुनाएको थियो । नेपाल राष्ट्र बैंक बादी रहेको उक्त मुद्दामा २३ जनाविरुद्ध मुद्दा दायर भएको थियो, जसमा ८ जना दोषी ठहर भएका थिए ।





About Us
प्रतिक्रिया