विजय लघुवित्तको एफपीओमा पुस २१ गतेदेखि आवेदन दिन सकिने


काठमाडौं – विजय लघुवित्त वित्तीय संस्था लिमिटेडले पुस २१ गतेदेखि एफपीओ निष्कासन गर्ने भएको छ। संस्थाले संस्थापक सर्वसाधारण शेयरधनीहरुको शेयर स्वामित्व ७०ः३० कायम गर्न एफपीओ निष्कासन गर्न लागेको हो।

साविकको नयाँ सारथी लघुवित्त वित्तीय संस्था र विजय लघुवित्त वित्तीय संस्थाको मर्जरपश्चात ७४ करोड ५० लाख ४० हजार ३५९ रुपैयाँ पुगेको छ। मर्जरपछि संस्थापक र सर्वसाधारण समूहको शेयर स्वामित्व क्रमशः ७४.३९ प्रतिशत र २५.६१ प्रतिशत कायम रहेकोमा सो अनुपात समायोजन गर्न एफपीओ ल्याउन लागेको संस्थाले जनाएको छ।

संस्थाले ४ करोड ६६ लाख ८१ हजार ७०० रुपैयाँ बराबरको प्रतिशेयर १०० अंकित दरका ४ लाख ६६ हजार ८१७ कित्ता साधारण शेयरहरु थप सार्वजनिक निष्कासन गर्न लागेको हो। निष्कासन बन्द छिटोमा पुस २४ गते हुनेछ भने ढिलोमा माघ ५ गते हुनेछ। सर्वसाधारण लगानीकर्ताले न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा १ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्। 

संस्थाको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरूबाट सि–आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन्। यसका साथै सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर ‘मेरो शेयर’ अनलाइन प्रयोग गरी सि–आस्बा प्रणालीमार्फत पनि आवेदन दिन सक्नेछन्।