यस्तो छ अर्थतन्त्र चलायमान बनाउन बैंकिङ्ग क्षेत्रले खेल्नुपर्ने भूमिका


काठमाडौं – बैंकिङ्ग क्षेत्र सुधार सुझाव कार्यदलले नेपाल राष्ट्र बैंकलाई प्रतिवेदन पेस गर्दै आर्थिक गतिविधि पूर्ण चलायमान बनाउन बैंकिङ्ग क्षेत्रले खेल्नुपर्ने भूमिकाका बारेमा सुझाव दिएको छ । बैंकिङ्ग क्षेत्र सुधार सुझाव कार्यदलले सुस्त अर्थतन्त्र उकास्न आवश्यक नीति नियमनलाई निक्षेपकर्ताको हितमा सम्झौता नहुने गरी छुट दिने नीति लिनुपर्ने बताएको हो ।

कार्यदलले सहुलियतपूर्ण कर्जा कार्यक्रमको बाँकी सरकारी अनुदानको जिम्मा लिई (लाभांशबाट शोधभर्ना लिने गरी) तत्काल सञ्चालन गराउन सुझाव दिएको छ । यस्तै, कोभिडपछि कतिपय व्यवसाय बन्द रहँदा कतिपय सानो स्केलमा सञ्चालन भइरहेको सन्दर्भमा पुनः व्यवसाय सञ्चालन र स्केल वृद्धि गर्न चाहनेलाई व्यावसायिक सम्भावना र धितो हेरी थप कर्जा व्यवस्था गर्नुपर्ने बताएको छ ।

निक्षेपकर्ताको हित सर्वाेपरि हुने गरी कर्जाको पुनरसंरचना तथा पुनरतालिकीकरणको व्यवस्था गर्नुपर्ने, ग्रामीण क्षेत्रमा ५ लाख र सहरी क्षेत्रमा १० लाखसम्मको व्यवसाय कर्जा उचित धितोमा बैंक वित्तीय संस्थाबाट सरल र सहजरूपमा पाउने व्यवस्था गर्नुपर्ने बताएको छ । साथै, लघुवित्त संस्थाबाट प्रदान हुने समूहगत कर्जालाई र धितोमा आधारित उद्यमशील कर्जाको सीमा वृद्धि गरिनुपर्ने सुझाव पेस गरेको छ ।

कार्यदलले आईटी र स्टार्टअप व्यवसायमा युवालाई प्रोत्साहन गर्ने कर्जा नीति लिनुपर्ने, निजी क्षेत्रसँग प्रभावकारी समन्वय गर्ने संयन्त्रको विकास गर्नुपर्ने बताएको छ ।