सहकारी बैंकको चुक्ता पुँजी २ अर्ब ५० करोड, पुँजीकोष कायम नगरे राष्ट्र बैंकले कारबाही गर्ने


काठमाडौं – नेपाल राष्ट्र बैंकले सहकारी बैंकको न्यूनतम चुक्ता पुँजी २ अर्ब ५० करोड कायम गरेको छ । केन्द्रीय बैंकले सीमित बैंकिङ्ग कारोबार गर्ने गरी खोलिएको सहकारी बैंकका लागि निर्देशिका जारी गर्दै चुक्ता पुँजी तथा न्यूनतम पुँजीकोष सम्बन्धी नयाँ व्यवस्था ल्याएको हो ।

नयाँ व्यवस्थाअनुसार सहकारी बैंकको पुँजी साधारण शेयरले मात्र बनेको हुनु पर्नेछ । यस्तै, सहकारी बैंकले आफ्नो कुल जोखिम भारित सम्पत्तिको आधारमा प्राथमिक पुँजी ४.० प्रतिशत र कुल पुँजीकोष ८.० प्रतिशत कायम गर्नु पर्नेछ।

राष्ट्र बैंककाअनुसार चुक्ता पुँजी (साधारण शेयर), प्रस्तावित बोनस शेयर, जगेडा कोष, सञ्चित नाफा/नोक्सान, प्रयोजन नखुलाई स्वतन्त्र रुपमा खडा गरिएका स्वतन्त्र कोषमा रहेको रकम प्राथमिक पुँजीमा समावेश हुनेछ । प्राथमिक पुँजी गणना गर्दा ख्याति, स्थगन कर सम्पत्ति, संगठित संस्थाको शेयर तथा सुरक्षणपत्रहरुमा गरेको लगानी रकम, अवास्तविक सम्पत्ति शीर्षकहरुमा रहेको रकम घटाउनु पर्नेछ।

यस्तै, केन्द्रीय बैंले पुँजीकोषसम्बन्धी निर्देशनहरुको पालना नभएमा कारबाही गर्ने व्यवस्था गरेको छ । केन्द्रीय बैंकले राष्ट्र बैंकले तोकेको न्यूनतम पुँजीकोष अनुपात भन्दा सहकारी बैंकले कायम गरेको पुँजीकोष अनुपात पच्चीस प्रतिशतसम्मले कम भएमा सम्बन्धित सहकारी बैंकको उच्च व्यवस्थापनसँग सुधारका कार्यक्रम सम्बन्धमा छलफल गरी छलफलका विषयवस्तुलाई अभिलेखको रुपमा राख्ने, सहकारी बैंकको पुँजी वृद्धि गर्न पुँजी योजना माग गर्ने, नगद लाभांश तथा बोनश शेयर घोषणा गर्न रोक लगाउने, नयाँ शाखा खोल्न रोक लगाउने, सम्बन्धित सहकारी बैंकका सञ्चालकको भत्ता तथा सुविधा र कार्यकारी प्रमुख लगायत उच्च व्यवस्थापनको तलब, भत्ता तथा सुविधा वृद्धिमा रोक लगाउने भएको हो ।