एसएमसी एपमार्फत सर्वसाधारणलाई ठग्ने ठुलो जालसाजी, देशभर प्रहरीमा उजुरीको चाङ


काठमाडौं – सामाजिक सञ्जाल र अनलाइन माध्यम प्रयोग गरी ‘एसएमसी’ नामक मोबाइल एपमार्फत छिटो पैसा कमाउन सकिने प्रलोभन देखाउँदै सर्वसाधारणलाई ठगिएको खुलेको छ। एपमार्फत स्क्याम भएको थाहा पाएपछि पछिल्लो समय देशभरका प्रहरी कार्यालय र साइबर ब्युरोमा पीडितका उजुरीहरू बढ्दै गएका छन्।

अनलाइन कमाइका नाममा आकर्षक अफर, साथीलाई रिफरल गरेबापत बोनस पाइने जस्ता आश्वासनसहित एसएमसी एपको पछिल्ला केही महिनादेखि सामाजिक सञ्जाल र म्यासेजमार्फत तीव्र प्रचारप्रसार गरिएको थियो। सुरुमा सानो लगानीमा उच्च प्रतिफल देखाउने, केही दिनसम्म कमाइको रकम सजिलै फिर्ता दिने र विश्वास जितेपछि ठुलो रकम ठगी गर्ने शैली सार्वजनिक हुँदै जाँदा यो एप ठगीको ‘नयाँ मोडेल’ का रूपमा चर्चामा आएको हो।

पीडितहरूका अनुसार एसएमसी एपले सुरुमा ‘भिडियो हेरेर कमाइ’, ‘साथीलाई एपमा जोड्दा थप बोनस’ जस्ता प्रलोभन देखाएर सर्वसाधारणलाई आकर्षित गर्याे। दुई–तीन महिनाअघि मात्रै नेपालमा देखिएको यस एपले प्रारम्भिक चरणमा केही रकम फिर्ता गरेर प्रयोगकर्ताको विश्वास जित्ने गरेको थियो। तर, प्रयोगकर्ताको संख्या बढेपछि एपमा देखिएको ब्यालेन्स झिक्न नमिल्ने बनाइएको पीडितको भनाइ छ।

त्यसपछि स्क्यामरहरूले एकाउन्ट रिचार्ज गर्नुपर्ने, कर तिर्नुपर्ने लगायतका बहानामा थप रकम असुल्न थाले। कतिपय प्रयोगकर्ताले आफू स्क्याममा परेको महसुस गरे भने कतिपयले स्क्यामरकै विश्वासमा परेर पुनः एकाउन्ट रिचार्ज गरे। तर, एपमा देखिएको रकम फिर्ता नआएपछि पीडितहरू प्रहरी कार्यालय धाउन थालेका छन्।

पीडितहरूले आफूले तिरेको करसमेत फिर्ता माग्दा एकाउन्ट ब्लक गरिएको र ग्राहक सेवा भनिएको च्याटमार्फत कुनै जवाफ नआएको गुनासो गरेका छन्। १ लाख ५० हजार रुपैयाँ गुमाएकी एक पीडितले भनिन्, ‘रकम तिरेँ, स्क्रिनमा ब्यालेन्स देखिन्थ्यो। फिर्ता गर्न खोज्दा एकपछि अर्को शुल्क मागियो। अन्त्यमा कुनै जवाफै आउन छाड्यो।’

तीन–चार महिनाअघि मात्रै नेपालमा सक्रिय भएको यो एपबाट धेरै नेपाली ठगिएको अनुमान गरिएको छ । ठगीका घटना बढ्दै गएपछि नेपाल प्रहरी प्रधान कार्यालय र साइबर ब्युरोले एसएमसी एपमार्फत हुने ठगीप्रति विशेष सावधानी अपनाउन सर्वसाधारणलाई आग्रह गरिसकेका छन्।

साइबर ब्युरोका प्रवक्ता दीपक राज अवस्थीका अनुसार, भदौ २५ गतेदेखि ब्युरोमा यस एपविरुद्ध ठगीका उजुरी आउन थालेका हुन्। ‘मंसिर १ गतेसम्म एसएमसी एपविरुद्ध ४९ वटा उजुरी दर्ता भइसकेका छन्,’ उनले भने। हालसम्ममा यस एपबाट ठगी गर्नेहरु विरुद्धको उजुरी सङ्ख्या २५० वटा पुगेको उनी बताउँछन् । उनका अनुसार यस एपबाट पीडित हुनेहरू ६०० पुगेका छन् ।

ब्युरोका अनुसार यस एप सञ्चालनका लागि बैंक खाता आवश्यक पर्ने र प्रयोगका क्रममा मोबाइल ह्याक हुने जोखिमसमेत रहेको पीडितहरूले बताएका छन्। प्रारम्भिक अनुसन्धानमा एपले अरू व्यक्तिलाई रिफर गर्दा थप रकम दिने, ‘के–१’ देखि ‘के–९’ सम्मका तह बनाएर सञ्चालन गर्ने पिरामिड संरचना अपनाएको पाइएको छ।

‘यहाँ देखिएको संरचना स्पष्ट रूपमा अवैध पिरामिड स्किमको संकेत गर्छ,’ साइबर ब्युरोका एक अनुसन्धानकर्ताले भने, ‘पीडितसँग प्रत्यक्ष भेटेर तथ्य–प्रमाण संकलन सुरु गरिसकेका छौँ।’ उनका अनुसार यस्ता एपहरू प्रायः विदेशी सर्भरमा चल्ने, नक्कली कम्पनी र नक्कली कागजात प्रयोग गरिने भएकाले संलग्न व्यक्तिलाई पक्रन चुनौतीपूर्ण हुने गर्छ।

प्रहरीले अनलाइनमार्फत छिटो कमाइको प्रलोभन देखाउने यस्ता एपबाट सतर्क रहन र ठगीमा परेमा तुरुन्तै नजिकको प्रहरी कार्यालय वा साइबर ब्युरोमा उजुरी दिन सर्वसाधारणलाई आग्रह गरेको छ।