राष्ट्र बैंकले बैंकहरुको मुद्दति निक्षेपमा ४ अर्ब २४ करोड लगानी गर्ने


काठमाडौं – नेपाल राष्ट्र बैंकले बैंकहरुको मुद्दति निक्षेपमा करिब सवा ४ अर्ब रुपैयाँ लगानी गर्ने भएको छ।केन्द्रीय बैंकको विभिन्न कोषमा रहेको ४ अर्ब २४ करोड ४६ लाख रुपैयाँ बैंकहरुको मुद्दति निक्षेपमा लगानी गर्न भएकाे हाे।

यसका लागि पुस ४ गते राति १२ बजेसम्म ब्याजदर प्रस्ताव गर्न राष्ट्र बैंकले बैंकहरुलाई आह्वान गरेको छ।कुल रकममध्ये राष्ट्र बैंकले वाणिज्य बैंकमा ३ अर्ब ३९ करोड ५८ लाख रुपैयाँ, राष्ट्रियस्तरका विकास बैंकमा ६३ करोड ६६ लाख रुपैयाँ र राष्ट्रियस्तरका वित्त कम्पनीमा २१ करोड २२ लाख रुपैयाँ मुद्दति निक्षेपका रुपमा लगानी गर्नेछ।

यो लगानी सन् २०२६ जनवरी १ देखि २०२७ जनवरी १ सम्म ३६६ दिनका लागि हुने केन्द्रीय बैंकले जनाएको छ। बैंक तथा वित्तीय संस्था सञ्चालनमा आएको कम्तिमा २ वर्ष पुरा गरेको, न्युनतम पुँजीकोष कायम भएको, निष्कृय कर्जा सापटीको ५ प्रतिशत भन्दा कम भएको, तरल सम्पति खुद निक्षेपमा कम्तिमा २० प्रतिशत वा सो भन्दा बढी भएको, रियल स्टेट कर्जा तोकिएको भन्दा कम नभएको लगायतका सर्त पुरा गरेको हुनुपर्ने केन्द्रीय बैंकले जनाएको छ।