बैंक वित्तीय संस्थामाथि भएको आक्रमणमा राष्ट्र बैंकको ध्यानाकर्षण


काठमाडौं – नेपाल राष्ट्र बैंकले हालैका दिनमा भएका बैंक तथा वित्तीय संस्था लक्षित घटनाहरूका सम्बन्धमा यस बैंकको गम्भीर ध्यानाकर्षण गराएको छ । केन्द्रीय बैंकले केही दिन अघि भएको ज्योति विकास बैंकका कर्मचारीमाथि भएको आक्रमणमा ध्यानाकर्षण गराएको हो ।

नेपाल सरकार, राष्ट्र बैंक र बैंक तथा वित्तीय संस्थासमेतको संयुक्त प्रयासअनुरूप सबै स्थानीय तहमा बैंक तथा वित्तीय संस्थाको उपस्थिति पुगेको कारण स्थानीयस्तरमा नै सर्वसाधारणसँग रहेको रकम निक्षेप राख्न, कर्जा लिन, विप्रेषण तथा सामाजिक सुरक्षा रकमलगायतका वित्तीय सेवा प्राप्त गर्न सहज भएको बताएको छ ।

बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ र राष्ट्र बैंकको निर्देशनको अधिनमा रही कर्जा प्रवाह गर्न, प्रवाह गरेको कर्जा सम्बन्धी परियोजनाहरूको अनुगमन गर्नु र कर्जा असुलउपर गर्नु सम्वन्धित बैंक तथा वित्तीय संस्थाको प्रमुख कार्य रहेको बताएको छ । बैंक तथा वित्तीय संस्थाले सर्वसाधारणबाट निक्षेप सङ्कलन गरी कर्जा प्रवाह गर्ने भएकोले कर्जा फिर्ता नभएमा निक्षेप फिर्ता गर्न नसक्ने, तरलतामा प्रभाव पर्ने हुँदा ऋणीले लिएको कर्जा भुक्तानी नियमित रूपमा गर्नुपर्ने हुन्छ । यद्यपि, कुनै प्रतिकूल परिस्थितिका कारण ऋण भुक्तानीमा परेको असहजतालाई सम्बोधन गर्न नेपाल राष्ट्र बैंकले समय(समयमा पुनरसंरचना तथा पुनरतालिकीकरण गर्नसक्ने लगायतका व्यवस्था गरी सहजीकरण गर्दै आएको उल्लेख छ।

बैंकिङ्ग कारोबार सम्बन्धमा कुनै गुनासो भएमा सम्बन्धित संस्था र यस बैंकमा गुनासो सुनुवाइको व्यवस्था रहेकोले ग्राहकलाई मर्का परेको भन्ने लागेमा सोको गुनासो गर्न र समाधान गर्न सकिने व्यवस्था समेत रहेको बताएको छ । बैंक तथा वित्तीय संस्था र ती संस्थामा कार्यरत कर्मचारीविरुद्ध भएका गैरव्यावसायिक तथा उच्छृङ्खल गतिविधि नियन्त्रण नभएमा वित्तीय साधन परिचालनमा कठिनाइ हुने भएकोले वित्तीय सेवा प्रभावित हुने क्रियाकलापमा संलग्न नहुन सम्बन्धित सबैलाई जानकारी दिएको छ । साथै, बैंक तथा वित्तीय सस्था र ती संस्थामा कार्यरत कर्मचारीसँग गैरजिम्मेवार व्यवहार गर्ने तथा उच्छृङ्खल गतिविधिमा संलग्न व्यक्तिलाई प्रचलित कानुनबमोजिम कारबाही हुने भएकाले वित्तीय क्षेत्रमा कार्यरत कर्मचारीलाई मनोबल उच्च राखी कार्य गर्न राष्ट्र बैंकले अनुरोध गरेको छ ।