काठमाडौं – बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हरुको छाता संगठनहरुले ज्योति विकास बैंकका कर्मचारीमाथि आक्रमण गर्नेहरुलाई कडा कारबाही गर्नुपर्ने माग गरेका छन् । नेपाल बैंकर्स संघ, डेभलपमेन्ट बैंकर्स एशोसियसन नेपाल, नेपाल वित्तीय संस्था संघ र नेपाल लघुवित्त बैंकर्स संघले संयुक्त रुपमा विज्ञप्ती जारी गर्दै ज्योति विकास बैंकका कर्मचारीहरूमाथि भएको आपराधिक घटनाप्रति गम्भीर ध्यानाकर्षण गराएका हुन् ।
ज्योति विकास बैंकको रुपनी शाखाका ऋणी सप्तकोशी इन्टिग्रेटेड एग्रो फर्म प्रालिका सञ्चालक ऋणीहरुले कर्जाको किस्ता नियमित गर्ने सम्बन्धमा परामर्श गर्न भनी छलफलमा बोलाई ज्योति विकास बैंकका क्षेत्रीय कार्यालय बर्दिवासका कर्मचारीहरुलाई ऋणीले आफ्नो नियन्त्रणमा लिई नियोजित रूपमा दुर्व्यवहार गर्दै आक्रमण गरेको गम्भीर आपराधिक घटनाप्रति ध्यानाकर्षण भएको बताएका हुन् ।
नियामक निकायबाट जारी गरिएका नीति तथा निर्देशन र विभिन्न ऐन(कानूनको पालना गर्दै निक्षेप संकलन, कर्जा प्रवाह, वित्तीय सेवा प्रदान लगायत विभिन्न कार्यहरू सञ्चालन गरी आम जनता तथा देशको समग्र प्रगतिका लागि आत्मसाथ गर्दै आएका बैंक तथा वित्तीय संस्थाहरू पछिल्लो समय विभिन्न अराजक गतिविधिको निशानामा परिरहेका उल्लेख छ।
कर्जा असुली गर्नु बैंकको जिम्मेवारी हो र बैंक तथा वित्तीय संस्थाको सबैभन्दा महत्वपूर्ण उद्देश्य भनेको निक्षेपकर्ताको बचत सुरक्षित गर्नु भएको भन्दै संगटनहरुले सम्पूर्ण बचतकर्ताको जिम्मेवारी लिएको बैंक तथा बैंकका कर्मचारीहरूले बचतको सुरक्षा सुनिश्चित गर्ने तथा नियमित असुली प्रक्रिया अपनाउने क्रममा यस प्रकारको अमानवीय व्यवहार भोग्नुपरेको अवस्था सम्पूर्ण बैंक तथा वित्तीय संस्था साथै ग्राहक वर्गका लागि गम्भीर चिन्ताको विषय भएको उल्लेख गरेका छन् । यस प्रकारको घटनाले बैंकिङ्ग सेवा प्रयोग गर्न निरुत्साहित गर्नुका साथै बैंक तथा वित्तीय संस्थाहरूलाई नियामक निकाय तथा ऐन(कानूनले प्रदान गरेका अधिकार प्रयोग गर्नसमेत बाधा पुऱ्याई चुनौती दिएको छ ।
बैंक तथा वित्तीय संस्थाहरूले नियमानुसार अपनाएको असुली प्रक्रिया तथा धितो लिलामी लगायतका विषयमा असहमति भएमा गुनासो गर्ने, अदालती प्रक्रियामा जाने लगायतका कानुनी प्रक्रिया हुँदा हुँदै कानुनलाई नै आफ्नै हातमा लिई अराजक गतिविधिमा संलग्न भई गरिएको यस्ता आपराधिक कार्यहरूको निन्दा गरेको छ । बैंकले आम निक्षेपकर्ताको रकमबाट प्रवाह गरेको ऋण असुलीको लागि ऋणसँग संवादका लागि जाँदा सुनियोजित रुपमा कर्मचारीहरुको ज्यानै लिने मनसायले गरिएको दावी छ ।
यस्ता अपराधीहरूलाई समयमै कानूनी दायरामा ल्याई कडा भन्दा कडा कारवाही गरी कर्मचारीहरुको मनोबल उच्च बनाई शान्ति सुरक्षाको अनुभूति प्रदान गर्नु पर्नेमा सम्बन्धित निकायमा घटना घटेकै दिन समयमै जानकारी गराइएता पनि तत्काल सम्बोधन हुन नसकेको प्रति सम्बन्धित निकायको गम्भिर ध्यानाकर्षण गराएको छ । साथै यस सम्बन्धी सूचना प्राप्त हुनासाथ सुरक्षा निकायबाट स्वतः रुपमा अनुसन्धान अगाडी बढाउनु पर्नेमा यो विज्ञप्ती निकालुन्जेल सम्म पनि जाहेरी दर्ता नहुनु अत्यन्त खेदनीय भएकोले सो सम्बन्धमा स्थानीय प्रहरी प्रशासनको समेत गम्भिर कमजोरी देखिएको हुँदा यथाशिघ्र अपराधीहरुलाई कानूनी दायरमा ल्याउनुपर्ने बताएको छ । बैंक तथा वित्तीय संस्थाप्रति भइरहेका अराजक गतिविधिहरूलाई निरुत्साहित गर्दै सजग र जिम्मेवार रहन सम्पूर्ण जनमानसमा अनुरोध गरेका छन् ।





About Us
प्रतिक्रिया