गृहमन्त्री ओमप्रकाश अर्यालको प्रमुख आतिथ्ययतामा गण्डकी प्रदेशस्तरीय सुरक्षा गोष्ठी सम्पन्न


काठमाडौं – गृहमन्त्री ओमप्रकाश अर्यालको प्रमुख आतिथ्ययतामा सोमबार आयोजित कार्यक्रमबीच एक दिवसीय गण्डकी प्रदेशस्तरीय सुरक्षा गोष्ठी, २०८२ कास्कीको पोखरामा सम्पन्न भएको छ। नेपाल सरकार गृह मन्त्रालय र मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय गण्डकी प्रदेशद्वारा संयुक्त रूपमा उक्त गोष्ठी आयोजना गरिएको हो।

उक्त अवसरमा गृहमन्त्री अर्यालले सुशासन र भ्रष्टाचार निर्मूल गर्ने एवम् तोकिएको समयमा निर्वाचन सम्पन्न गरी जनतालाई नयाँ नेतृत्व प्रदान गर्नु वर्तमान सरकारको प्रमुख उद्देश्य रहेको उल्लेख गर्दै उक्त पूर्वनिर्धारित कार्य पुरा गर्न आवश्यक सुरक्षा व्यवस्थापनको कार्य भइरहेको बताए। स्वच्छ निर्वाचननै लोकतन्त्रको प्रमुख मर्म रहेकोले यसका लागि आवश्यक छलफलको लागि सरकार सदैव तयार रहेको बताउँदै गृहमन्त्री अर्यालले सुरक्षा चुनौतीलाई मध्यनजर गरी जेनजी आन्दोलनमा लुटिएका हतियारहरू फिर्ता गर्न र कारागारबाट भागेका कैदी बन्दीहरूलाई फिर्ता गर्न मन्त्रालयले विशेष अपरेसन चलाइरहेको बताए।

सो अवसरमा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले फेरिएको राजनीतिक परिस्थिति र थपिएको सुरक्षा चुनौतीलाई सम्बोधन गर्न सुरक्षाकर्मीहरूको मनोबल उच्च बनाउँदै प्रभावकारी सुरक्षा योजना बनाई कार्यान्वयन गर्नुपर्नेमा जोड दिए। गोष्ठीमा प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले समाजमा शान्ति सुरक्षा कायम गर्नुका साथै अपराध नियन्त्रण तथा अनुसन्धानमा प्रहरीले न्यून साधन स्रोतका बाबजुद उच्च मनोबलका साथ कार्यसम्पादन गर्दै आइरहेको बताए। 

समाजमा देखा परेका सुरक्षा चुनौतीहरूको सामना गर्न प्रहरी सदैव तयार रहेको बताउँदै गोष्ठीबाट प्राप्त भएका निर्देशन तथा पृष्ठपोषणको उच्चतम सदुपयोग गरी प्रदेश अन्तर्गत प्रभावकारी सुरक्षा व्यवस्थापन र आसन्न निर्वाचन सुरक्षामा प्रदेशस्तरीय निकायहरूबीच प्रभावकारी सहकार्य तथा समन्वयका साथ कार्यसम्पादन गर्ने उनले बताए।