राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक श्रेष्ठ बने योजना आयोगका उपाध्यक्ष


काठमाडौं – राष्ट्रिय योजना आयोगका उपाध्यक्षमा डा. प्रकाश कुमार श्रेष्ठ नियुक्त भएका छन् । आज बसेको मन्त्रिपरिषद बैठकले उनलाई आयोगको उपाध्यक्षमा नियुक्त गरेको हो ।

राष्ट्र बैंकका पुर्व कार्यकारी निर्देशक समेत रहेका श्रेष्ठ यसअघि नै आयोगका सदस्य समेत बनिसकेका छन् । उनले प्रदेश योजना आयोगको समेत अनुभव बटुलिसकेका छन् । सन् १९९६ मा अर्थशास्त्र विषयमा त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर तहको उपाधि प्राप्त गरेका श्रेष्ठले अस्ट्रेलियाको कर्टिन विश्वविद्यालयबाट सन् २००४ मा अर्थशास्त्रमा स्नातकोत्तर गरेका छन् । यस्तै, वित्त विषयमा स्नातकोत्तर गर्नुका साथै तथा सन् २०१२ मा द न्यु स्कुल विश्वविद्यालय, न्यूयोर्कबाट विद्यावारिधि गरेका छन् ।

बैंकिङ्ग क्षेत्रको राम्रो अनुभव सँगालेका डा. श्रेष्ठले २०५४ साल मंसिर २३ गतेदेखि केन्द्रीय बैंकमा जागिर सुरु गरेका हुन्। राष्ट्र बैंक प्रवेशको ८ वर्षपछि उप(निर्देशक पदमा बढुवा भएका डा. श्रेष्ठ त्यसको केही समयमा नै निर्देशक बने। राष्ट्र बैंकमा निर्देशकका रूपमा काम गर्दै गर्दा उनी सार्क फाइनान्सको समन्वयक समेत बनेका थिए ।

यस्तै, लुम्बिनी प्रदेश सरकारको अर्थ मन्त्रालयको आर्थिक सल्लाहकार तथा सोही प्रदेशको प्रदेश योजना आयोगको उपाध्यक्ष बनिसकेका छन् । यस्तै, राष्ट्र बैंकको लघुवित्त सुपरिवेक्षण विभाग र आर्थिक अनुसन्धान विभाग लगायतकोको कार्यकारी निर्देशक हुँदै विभिन्न विभागको नेतृत्व गरिसकेका छन् । बैंकिङ्ग क्षेत्रमा विज्ञता हासिल गरेका उनले अर्थमन्त्रीका सल्लाकारका रुपमा पनि काम गरिसकेका छन् ।

राष्ट्रिय बैंकिङ्ग इन्स्टिच्युटको अध्यक्ष, नेपाल धितोपत्र बोर्ड सञ्चालक सदस्य बनेर काम गरिसकेका छन् । यस्तै, उनले त्रिभुवन विश्वविद्यालयमा केन्द्रीय अर्थशास्त्र विभागमा एमफिल गरिरहेका विद्यार्थीहरूलाई वित्तीय अर्थशास्त्र अध्यापन समेत गराएका छन् भने ‘द न्यू स्कूल फर सोशल रिसर्च, न्यूयोर्क’मा शिक्षण सहयोगीको भूमिकामा काम गरेको अनुभव सँगालेका छन् ।