काठमाडौं – काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले आफू प्रमुखको भूमिकामा आएपछि २३ अर्ब रुपैयाँ मूल्य बराबरको २०८ रोपनी सार्वजनिक जग्गा फिर्ता गरिएको बताएका छन्।
यहाँ आज आयोजना गरिएको कामपाको ३१औँ स्थापना दिवसको अवसरमा प्रमुख शाहले कामपाको लक्ष्य दुई खर्ब रुपैयाँबराबरको एक हजार आठ सय ५९ रोपनी सार्वजनिक अतिक्रमण जग्गा फिर्ता गर्नु रहेको जानकारी दिए।
उनले ९१ करोड रुपैयाँ लागतको सम्पदा संरक्षणको काम गरेको बताए। दश केन्द्रलाई बिमाको प्रथम सेवा केन्द्रको रुपमा तोकिएको उनले जानकारी दिए। पाँच अर्ब चार करोड रुपैयाँको लागतमा दुई सय ५१ योजना बोलपत्र प्रक्रियामार्फत खरिद गरिएका प्रमुख शाहले बताए। उनका अनुसार धुलोरहित सडक कार्यक्रमअन्तर्गत ५५ किलोमिटर सडक सुधार सम्पन्न भएको छ।
कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, सभामुख देवराज घिमिरे र राष्ट्रियसभाका अध्यक्ष नारायण दाहालसहितको सहभागिता थियो। कार्यक्रममा विभिन्न वडाले सांस्कृतिक झाँकी प्रस्तुत गरेका थिए। काठमाडौं महानगरले हरेक वर्ष मङ्सिर २९ गते स्थापना दिवस मनाउँदै आएको छ।






About Us
प्रतिक्रिया