चालु खाता र शोधनान्तर स्थिति दुवै बचतमा


काठमाडौं – चालु खाता र शोधानान्तर स्थिति दुवै बचतमा रहेको छ। नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको चार महिना (साउन– कात्तिक) सम्मको तथ्यांकमा आधारित देशको आर्थिक स्थिति सार्वजनिक गर्दै यस्तो देखाएको हाे।

समीक्षा अवधिमा चालु खाता २ खर्ब ७९ अर्ब ६५ करोड रुपैयाँले बचतमा रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा चालु खाता १ खर्ब ४७ अर्ब ७८ करोड रुपैयाँलेले बचतमा रहेको थियो। अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा १ अर्ब १० करोडले बचतमा रहेको चालु खाता समीक्षा अवधिमा १ अर्ब ९९ करोडले बचतमा रहेको छ।

समीक्षा अवधिमा खुद पुँजीगत ट्रान्सफर ६ अर्ब २१ करोड रुपैयाँ रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर २ अर्ब ४७ करोड रुपैयाँ रहेको थियो। यसैगरी, समीक्षा अवधिमा २ अर्ब ४९ करोड रुपैयाँ प्रत्यक्ष वैदेशिक लगानी (इक्विटी मात्र) भित्रिएको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो प्रत्यक्ष वैदेशिक लगानी (इक्विटी मात्र)५ अर्ब ७६ करोड रहेको थियो।

समीक्षा अवधिमा शोधनान्तर स्थिति ३ खर्ब १८ अर्ब ४० करोडले बचतमा रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति २०५ अर्ब ८३ करोड रूपैयाँले बचतमा रहेको थियो। अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा १ अर्ब ५३ करोडले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा २ अर्ब २६ करोडले बचतमा रहेको छ।