भरुवा बन्दुकसहित पाँच जना पक्राउ


काठमाडौं – प्रहरीले विभिन्न स्थानहरूबाट भरुवा बन्दुकसहित पाँच जनालाई पक्राउ गरेको छ। रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिका–८ बाट भरुवा बन्दुक २ थान र सोही बन्दुकमा प्रयोग हुने बारुद करिब २ सय ग्रामसहित ३ जनालाई आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको हो। 

पक्राउ पर्नेहरूमा सोही गाउँपालिका–८ खराङ बस्ने ३० वर्षीय शेर बहादुर थापा, ४३ वर्षीय यम प्रसाद पुन र ४८ वर्षीय कृष्ण बहादुर मल्ल रहेका छन्। जिल्ला प्रहरी कार्यालय रुकुम पूर्व समेतबाट खटिएको प्रहरीले शेर बहादुरको गोठ तलासी गर्दा उक्त हातहतियार फेला पारी उनीहरूलाई पक्राउ गरेको हो।  

त्यस्तै, उदयपुर, कटारी नगरपालिका– १२ अर्नाबाट भरुवा बन्दुक १ थानसहित २ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ३५ वर्षीय मित्र बहादुर बुढाथोकी र ४४ वर्षीय हिरालाल तामाङ रहेका छन्। प्रहरी चौकी बसेरीबाट खटिएको प्रहरीले मित्र बहादुरको बारीबाट उक्त बन्दुक फेला पारी दुवै जनालाई पक्राउ गरेको हो। यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।