काठमाडौं – नेपाल राष्ट्र बैंकले कालोसूचीबाट नाम हट्न सक्ने व्यवस्थामा हेरफेर गरेको छ। केन्द्रीय बैंकले एक सर्कुलर जारी गर्दै कालोसूचीबाट नाम हट्न सक्ने व्यवस्थामा संशोधन गरेको हो।
केन्द्रीय बैंककाअनुसार बैंक तथा वित्तीय संस्थाले आफूले प्राप्त गर्नुपर्ने सम्पूर्ण रकम असुल हुने गरी गैह्र बैंकिङ्ग सम्पत्ति सकार गरेपछि कालोसूचीबाट नाम हट्नेछ। यस्तो धितो सकार गर्दा सम्पत्ति उपर ऋणीले हक दाबी छोडेको प्रतिबद्धता समेत लिनुपर्ने केन्द्रीय बैंकको भनाई छ।
केन्द्रीय बैंकले भूलवश कालोसूची सूचीमा समावेश भएकाहरूको सम्बन्धमा पनि नयाँ व्यवस्था लागू गरेको छ। केन्द्रीय बैंकले कालोसूचीमा समावेश नहुनु पर्ने कुनै व्यक्ति, फर्म, कम्पनी वा सङ्गठित संस्था भूलवश कालोसूचीमा समावेश गरिएकोमा सम्बन्धित संस्थाको कार्यकारी प्रमुखले निर्णय गरी अनुरोध गरेमा अविलम्ब त्यस्तो व्यक्ति, फर्म, कम्पनी वा सङ्गठित संस्थालाई अभिलेख नै नरहने गरी कालोसूची हटाउनु पर्ने उल्लेख छ।
यसरी भूलवश कालोसूची समावेश भई हटेका व्यक्ति, फर्म, कम्पनी वा सङ्गठित संस्थालाई कालोसूची समावेश भएको मानिने छैन भने बैंक तथा वित्तीय संस्थाले भूलवश कालोसूचीमा समावेश भई हटेका व्यक्ति, फर्म, कम्पनी वा सङ्गठित संस्थाको विवरण त्रैमासिक रूपमा आफ्नो सञ्चालक समितिमा पेश गर्नुपर्नेछ।
यस बैंकको निर्देशनबमोजिम कालोसूचीमा समावेश भएका व्यक्ति, फर्म, कम्पनी, संस्थाले बैंक तथा वित्तीय संस्थामा खाता (कल खाता समेत)खोल्न पाउने छैनन्। तर, कानूनबमोजिम सामाजिक सुरक्षा भत्ता, तलबी खाता एवम् पेन्सन रकम प्राप्त गर्ने प्रयोजनको लागि खाता खोल्न यस व्यवस्थाले बाधा नपुग्ने केन्द्रीय बैंकको भनाई छ।






About Us
प्रतिक्रिया