काठमाडौं – जेनजी युनाइटेडले गभर्नर डा. विश्वनाथ पौडेललाई बर्खास्त गर्नुपर्ने माग गरेको छ। जेनजी युनाइटेडका संयोजक जनक परियारले गभर्नरलाई बर्खास्त गर्नुपर्ने माग राख्दै अर्थमन्त्री रामेश्वर खनाललाई ज्ञापनपत्र बुझाएका हुन्।
ज्ञापनपत्रमा विगत केही समयदेखि देशका अर्थतन्त्रपूर्ण रुपमा लयमा फर्किन नसक्दा नागरिकको जीवन सहज नबनेको उल्लेख गरिएको छ। साथै, लगानी गर्ने वातावरण बनाउन नेपाल राष्ट्र बैंकलाई जिम्मेवार बनाउनु आवश्यक रहेको उल्लेख गरिएको छ।
राष्ट्र बैंक ऐनमा गभर्नर नियुक्तिको लागि सिफारिस गर्दा आर्थिक, मौद्रिक, बैंकिङ्ग, वित्तीय, वाणिज्य व्यवस्थापन तथा वाणिज्य कानुन क्षेत्रका लब्धप्रतिष्ठित व्यक्तिहरु तथा डेपुटी गभर्नरहरु मध्येबाट तीन जनाको नामवाली मन्त्रिपरिषद्मा सिफारिस गर्नेछ भनिएको भएपनि सो व्यवस्थाको विरुद्ध डा. पौडेललाई सिफारिस गरिएको उनीहरुको दाबी छ । गभर्नर नियुक्तिको लागि पेश गरेका शैक्षिक प्रमाणपत्र र कार्यअनुभव विषयगत विज्ञता तथा अनुभवको अभावका कारण गभर्नरको लागि योग्यता नपुग्ने उनीहरुको भनाई छ।
यस्तै, राष्ट्र बैंक ऐनमा वाणिज्य बैंक वा वित्तिय संस्थामा पाँच प्रतिशत वा सो भन्दाबढी शेयर वा मतदान अधिकार भएको व्यक्ति गभर्नर नियुक्तिको लागि योग्य नहुने भनिएपनि सानिमा बैंकको संस्थापक शेयरधनी समेत रहेका पौडेल गभर्नरमा नियुक्ति भएको उनीहरुको भनाइ छ।
जेनजी युनाइटेडले बैंक तथा वित्तिय संस्थाहरुको मनपरीलाई नियन्त्रण गर्नुपर्ने, लगानीकर्तालाई सुरक्षाको प्रत्याभूति गराउनुपर्ने अर्थमन्त्रालयमा विचौलियाको चलखेल रोक्नुपर्ने, बैंक तथा वित्तीय संस्थाहरुले अनाधिकृतरुपमा लिएको ब्याज ऋणीलाई फिर्ता गर्नुपर्ने, राजस्व अनुसन्धान र सम्पत्ति शुद्धिकरण विभागलाई जिम्मेवार बनाउनुपर्ने, वैदेशिक ऋणको दुरुपयोग रोक्नुपर्ने र पैसा थुपार्ने प्रवृतिलाई निरुत्साहित गर्नुपर्ने जस्ता माग अर्थमन्त्रीलाई बुझाएको ज्ञापनपत्रमा राखेका छन्।






About Us
प्रतिक्रिया