कञ्चनपुर – शुक्लाफाँटा नगरपालिका–१ बन्साहमा मुक्त हलिया परिवारको पुनःस्थापनाका लागि जग्गा खरिद गरिएको ७ वर्ष बितिसक्दा पनि सुरक्षित आवास निर्माण हुन सकेको छैन । मुक्त हलिया परिवारलाई सात धुरका दरले जग्गा उपलब्ध गराई जग्गाधनी पुर्जा (लालपुर्जा)समेत वितरण गरिएको भए पनि घर निर्माणका लागि आवश्यक सरकारी मापदण्डअनुसार जग्गा खण्डीकरण नगरिँदा पुनःस्थापनाको काम अघि बढ्न नसकेको हो । विसं २०७७ मा नगरपालिकाले २५ परिवारको पुनःस्थापनाका लागि उक्त जग्गा खरिद गरेको थियो ।
राष्ट्रिय हलिया मुक्ति समाजका जिल्ला अध्यक्ष शिवी लुहारका अनुसार जग्गाको चौडाइ न्यून भएकाले घर निर्माण सम्भव नभएको अवस्था देखिएपछि आवास निर्माण प्रक्रिया अलपत्र परेको छ । ‘घर निर्माणको’ मापदण्डविपरीत जग्गा खरिद गरी लालपुर्जा वितरण गरिँदा मुक्त हलिया परिवार पुनःस्थापित हुन सकेनन्’, उनले भने।
नगरपालिकाले आवास निर्माणका लागि ५० लाख रुपैयाँ बजेट विनियोजन गरी २ कोठा, १ बरन्डा र १ शौचालयसहितका आवास निर्माण गर्ने योजना अघि सारेको थियो । सहयोगी संस्थालेसमेत सहकार्य गर्ने प्रतिबद्धता जनाएको थियो । तर खण्डीकरण गरिएको जग्गामा मापदण्डअनुसार आवास निर्माण सम्भव नदेखिएपछि दातृ निकायले हात झिकेको अध्यक्ष लुहारले बताए। त्यसयता पुनःस्थापनाको काम ठप्प अवस्थामा पुगेको उनको भनाइ छ ।






About Us
प्रतिक्रिया