लाभांश पारित गर्न सिटिजन लाइफले बोलायो वार्षिक साधारणसभा


काठमाडौं – सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीले नवौं वार्षिक साधारण सभा पुस १८ शुक्रबार डाकेको हो । कम्पनीको मंसिर २६ गते बसेको सञ्चालक समिति बैठकले साधारण सभाको मिति तय गरेको हो ।

सभा आम्रपाली ब्याङ्कवेट नक्सालमा बिहान ९ः३० बजे सुरु हुनेछ । सभाले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्तापुँजी ५ अर्ब रुपैयाँको कुल २० प्रतिशतले हुन आउने १ अर्ब रुपैयाँ नगद लाभांश प्रस्ताव पारित गर्नेछ ।

यस्तै, सभाले आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहितको वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह लगायतका वित्तीय विवरणहरूमा छलफल गरी पारित गर्ने उल्लेख छ ।

यसैगरी, सभाले आर्थिक वर्ष २०८२/८३ को लागि लेखापरीक्षण समितिबाट सिफारिस भई आए बमोजिम बाह्य लेखापरीक्षक नियुक्ती गर्ने तथा निजको पारिश्रमिक निर्धारण गर्ने सम्बन्धमा छलफल गर्नेछ भने स्वतन्त्र सञ्चालकको नियुक्ती बारेमा बीमा ऐन, २०७९ बमोजिम साधारण सभामा जानकारी सम्बन्धमा छलफल हुनेछ ।