काठमाडौं – फिनटेक अलायन्स नेपालले ‘नेपाल फिनटेक २०२६’ आयोजना गर्ने घोषणा गरेको छ। २०२६ को जनवरी २ र ३ मा अलायन्सले ललितपुरको हेरिटेज गार्डेनमा दुई दिने एक्सपो आयोजनाको घोषणा गरेको हो।
यो नेपालमा पहिलो पटक आयोजना हुन लागेको सबैभन्दा ठुलो र पूर्ण रूपमा फिनटेक केन्द्रित एक्स्पो हो। जसले देशको डिजिटल फाइनान्स, भुक्तानी प्रणाली, बैंकिङ प्रविधि, इम्बेडेड फाइनान्स, साइबर सुरक्षा, क्लाउड बैंकिङ्ग, कृत्रिम बुद्धिमत्ता (एआई) ब्लकचेन तथा नयाँ पुस्ताका प्रविधिहरूलाई एकै मञ्चमा ल्याउनेछ।
दुई दिने यस एक्स्पोमा ४ हजारभन्दा बढी सहभागीहरूको उपस्थिति अपेक्ष रहेको आयोजकले जनाएको छ। जसमा बैंक तथा वित्तीय संस्था, पीएसओ, पीएसपी, बीमा कम्पनी, लगानी कम्पनी, पुँजी बजार, आईटी तथा सफ्टवेयर कम्पनीहरू, फिनटेक तथा टेक स्टार्टअपहरूको सहभागिता हुनेछ। यस्तै, सरकारी संस्थान, दातृ निकाय, नियामक संस्था, अन्तर्राष्ट्रिय प्रतिनिधि तथा सम्भावित लगानीकर्ताहरू समेत रहनेछन्।
एक्सपोमा ६० भन्दा बढी स्ट्यान्डर्ड बूथ, स्टार्टअप डेमो जोन, टेक कम्युनिटी जोन, अनुभवात्मक फिनटेक शोकेस, र उद्योग केन्द्रित सत्रहरू रहने व्यवस्था गरिएको छ। टेक कम्युनिटीका लागि ‘फस्ट कम फस्ट’ सर्भ आधारमा निःशुल्क टेबल प्रदान गरिनेछ। जसले स्थानीय प्रतिभा र इनोभेटरहरूलाई आफ्नो कौशल प्रदर्शन गर्ने अवसर दिनेछ।
यसका साथै, एक्स्पोमा डिजिटल ट्रान्सफर्मेसन, नेक्स्ट जेन पेमेंट टेक्नोलोजी, क्रेडिट स्कोरिङ, डेटा एनालेटिक्स, फन्ड म्यानेजमेन्ट, साइबर रेसिलिएन्स, फाइनान्सियल इन्क्लूजन, इम्बेडेड फाइनान्स, डिजिटल लेन्डिङ र भुक्तानी प्रणाली विस्तार जस्ता विषयमा छलफल तथा अनुभव आदान प्रदान हुने छ।
यी कार्यक्रमहरूले उद्योगका प्रमुख नेतृत्व, इनोभेटर्स, नीति निर्माताहरू र सेवा प्रदायकहरू बीच गहिरो सहकार्य र ज्ञान आदान-प्रदान गर्ने वातावरण सिर्जना गर्नै आयोजकको विश्वास छ। प्रवेश टिकट मूल्य साधारणका लागि १०० रुपैयाँ र विद्यार्थीका लागि ५० रुपैयाँ रहनेछ।






About Us
प्रतिक्रिया