प्रहरीमा एसएसपीको ७ सिट रिक्त, यसअघि पटकपटक बढुवामा छुटेका बस्नेत पर्लान् ?


काठमाडौं – नेपाल प्रहरीमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) का ७ पद रिक्त भएसँग प्रहरीको बढुवा प्रक्रिया फेरी चर्चा तानिएको छ । यतिबेला प्रहरीको एसएसपीका ७ सिट खाली रहेको छ । उक्त खाली एसएसपीको पदका लागि १७ जना प्रहरी उपरीक्षक (एसपी) हरू प्रतिस्पर्धा छन् । रिक्त सिट सीमित रहेकाले गर्दा एसपीहरूबाट बढुवाको प्रतिस्पर्धा हुने अपेक्षा गरिएको छ ।

गत कात्तिक ९ गते भूपेन्द्र खत्री, सानुराम भट्टराई, ओम अधिकारी, शेखर खनाल र अविनारायण काफ्ले एसएसपीबाट प्रहरी नायव महानिरीक्षक (डीआईजी)मा बढुवा भएपछि ५ वटा एसएसपीको पद रिक्त भएको थियो । त्यस्तै, त्यसपछि गत १ गते पुन: विश्व अधिकारी डीआईजीमा बढुवा भएपछि थप एउटा एसएसपीको पद रिक्त भएको थियो । साथै, सुदुरपञ्चिम प्रदेशका प्रवक्ता रूपमा कार्यरत रहेका एसएसपी प्रकाश रानाभाटले दिएको राजीनामा स्वीकृत भएपछि एसएसपीको ७ वटा पद रिक्त भएको हो ।

त्यसअघिको डीआईजी बढुवामा समेत पहिलो वरियतामा रहेका विश्व अधिकारीलाई छुटाइएको थियो । त्यसबेलामा दोस्रो वरियतामा रहेका खत्रीसहित भट्टराई, अधिकारी, खनाल, छैटौँ वरियतामा रहेका काफ्लेलाई डीआईजीमा बढुवा गर्दा काबिल प्रहरी अधिकृत विश्व अधिकारी छुटाइएको थियो । तर दानबहादुर कार्की आईजीपी भएपछि उनी डीआईजीमा बढुवा भए । उनीहरू २०५६ असार ३ मा सेवा प्रवेश गरेका थिए ।

एसएसपीका सात पदका लागि प्रतिस्पर्धा तीव्र भइरहेको छ ।  एसपीबाट एसएसपीमा बढुवा हुनेहरूको सुचीमा पहिलो वरियतामा विमल बस्नेत रहेका छन् भने दोस्रो वरियतामा राम प्रकाश शाह रहेका छन् । उनीहरू दुवै जना राष्ट्रिय अनुसन्धान विभागबाट स्थानान्तरण भएर प्रहरीमा आएका थिए । पहिलो वरियतामा रहेका बस्नेत राष्ट्रिय अनुसन्धान विभागमा २०५३ पुस ९ मा भर्ना भएका थिए । शाह २०५५ भदौ १० मा प्रहरी सेवा प्रवेश गरेका थिए ।

साथै, भुवनेश्वर तिवारी वरियताका तेस्रो नम्बरमा, ऋषिराम कँडेल वरीयताको चौथो नम्बरमा र सुरेश प्रसाद काफ्ले पाँचौँ नम्बरमा छन् । यसअघिका बढुवाहरू जस्तै यस पालिको बढुवामा पनि सिट संख्या थोरै र आकांक्षी धेरै हुँदा काबिल प्रहरी अधिकृतहरू बढुवा हुनबाट छुट्न सक्छन् । एसपीबाट एसएसपीमा बढुवा हुनेहरूमा विमल बस्नेत, राम प्रकाश शाह, भुवनेश्वर तिवारी, ऋषिराम कँडेल, सुरेश प्रसाद काफ्ले, अमरेन्द्र बहादुर सिंह, श्याम सिंह चौधरी, नकुल पोखरेल, पदम बहादुर विष्ट, सुवास चन्द्र बोहरा, बासुदेव खतिवडा, प्रतिज केसी, राज कुमार सिलवाल, योगेन्द्र सिंह थापा, महेन्द्र कुमार श्रेष्ठ, दिलिप घिमिरे र विरेन्द्रबहादुर शाही रहेका छन् ।

एसएसपीमा बढुवा हुने पहिलो नम्बरमा रहेका बस्ने यसअघि पनि बढुवामा छुटेका थिए । २०८२ साउन ५ मा भएको बढुवा उनलाई छुटाइएकाले गर्दा बस्नेतले बढुवा उपरको उजुरी सुन्ने समितिमा उजुरी दिएका थिए । ५ साउनमा बढुवा सिफारिस समितिले ११ जना एसपीलाई बढुवाका लागि सिफारिस गर्दा उनी छुटेका थिए । त्यतिबेला तुलबहादुर कार्की, राकेश सिंह, राजिव बहादुर बस्नेत, कमल थापा, प्रविण धिताल, प्रकाश रानाभाट, ज्ञानेन्द्र प्रसाद फुयाल, दीपक पोखरेल, दयानिधि ज्ञवाली, दीपेन्द्र शाही र केदार खनाल बढुवाका लागि सिफारिस भएका थिए ।

सो बढुवामा छुटेका एसपी बस्नेत २०५३ सालमा राष्ट्रिय अनुसन्धान विभागको इन्स्पेक्टरमा भर्ना भएर प्रहरीमा स्थानान्तरण भएर आएका अधिकृत हुन् । अरु बढुवा भएकाहरू भने २०५८ मा नेपाल प्रहरीको इन्स्पेक्टरमा भर्ना भएकाहरू हुन् । आफूभन्दा पाँच वर्ष जुनियर बढुवा हुँदा पनि छुटाइएको आरोप बस्नेतको थियो । बस्नेत यसअघि २०७७ सालमा कर्णाली प्रदेशको ट्राफिक प्रमुख हुँदा खेरी आर्थिक अनियमिततामा मुछिएका थिए । जसले गर्दा निलम्बनमा परेका बस्नेतलाई प्रहरी प्रधान कार्यालयले त्यसबेला ५ वर्ष बढुवा रोक्का गर्ने निर्णय गरेको थियो ।

रोक्को अवधि सकिँदा पनि पटक पटक छुटाइएको उनका आरोप थियो । त्यसपछि उनी लगातार रूपमा बढुवामा छुटिरहेका छन् । बस्नेतका ब्याचका धेरैजसो प्रहरी अधिकृतहरू यसअघि नै एसएसपी भैसकेका छन् । प्रहरी नियमावली अनुसार यसरी बढुवाविरुद्ध उजुरी गरेपछि २ नम्बर घट्ने प्रावधान रहेको छ । त्यस्तै, संयुक्त राष्ट्रसंघको मिसनमा लामो समय काम गरेका काफ्ले अहिले सर्वोच्च अदालत समन्वय तथा सुरक्षा प्रहरी इकाईका प्रमुखको रूपमा कार्यरत छन् ।

वरीयताको चौथो नम्बरमा रहेका ऋषिराम कँडेल कपनस्थित केन्द्रीय विशेष कार्यदलको प्रमुख रूपमा रहेका छन् । प्रहरी उपरीक्षक भएपछि लामो समय युएन मिसनमा काम गरेका अमरेन्द्र बहादुर सिंहले जिल्ला कमान्ड गरेका छैनन् ।