काठमाडौं – प्रभु बैंकको कर्जा दुरुपयोग प्रकरणमाथि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)को अनुसन्धानको शृङ्खलामा ‘लहरो तान्दा पहरो खस्ने’ सम्भावना बढेर गएको छ। सीआइबीले प्रभु बैंकको केन्द्रीय कार्यालयबाट नै बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचन पक्राउ गरी अनुसन्धान गरिरहेको छ। साथै, बैंकका नायव प्रमुख कार्यकारी अधिकृत (डिसीईओ) राम पोखरेल, प्रमुख कर्जा अधिकृत रिवास श्रेष्ठका साथै गुण एयरलाइन्सका सञ्चालक राजेन्द्र शाक्यलाई समेत सीआईबीको हिरासतमा छन्।
प्रारम्भिक चरणमा पक्राउ परेकाहरूलाई अनुसन्धान गर्ने क्रममा अन्य पनि थपिन सक्छन्। प्रभु बैंककी प्रमुख व्यवसाय अधिकृत रश्मि पन्त, कार्यवाहक सीईओ निरज लम्साललगायतका अन्य कर्मचारीहरू सीआइबीको निगरानीमा छन्।
बैंकका सीईओ शेरचनसँगै चार जनालाई नेपाल राष्ट्र बैंकको कानून विपरीत करोडौँ रुपैयाँ कर्जा प्रवाह गरी त्यसको दुरुपयोग भएको प्रारम्भिक अनुसन्धानपछि पक्राउ गरिएको हो। सीआईबीको अनुसन्धानअनुसार विभिन्न कम्पनीहरूको नाममा कर्जा प्रवाह गरी अपराध लुकाउने प्रयास समेत भएको पाइएको छ। बैंकलाई ठूलो आर्थिक हानी पुगेको बताइएको छ। सीआईबीले उक्त मुद्दामा थप अनुसन्धान जारी राखेको र संलग्न अन्य व्यक्तिहरूमाथि समेत अनुसन्धानको दायरा विस्तार भइरहेको जनाएको छ।
सीआईबीका प्रवक्ता शिवकुमार श्रेष्ठका अनुसार अनुसन्धानको प्रकृतिअनुसार धेरै तथ्यहरू गोप्य राख्नुपर्ने भएकाले निगरानीमा रहेका व्यक्तिहरूको पहिचान खुलाउन मिल्दैन। श्रेष्ठले भने, ‘सीआईबीका निगरानीमा रहेका व्यक्तिहरू को–को हुन् भन्न मिल्दैन। अनुसन्धानका धेरै पक्ष गोपनीय हुन्छन्।’
को हुन् रश्मि पन्त ?
सीआईबीकाे निगरानीमा रहेकामध्ये पन्त सन् २०१५ मा प्रभु बैंक लिमिटेडको व्यवसाय योजना अधिकृत नियुक्त भएकी थिइन्। सन् २०२० मा प्रभु बैंक लिमिटेडको प्रमुख सञ्चालन अधिकृत बनिन्। उनी बैंक प्रवेश गरेको ९ वर्षमा १० पटक बढुवा भएकी हुन्। बैंकका उच्चपदस्थसँग निकट रहेर छाेटो समयमै लाभको पदमा पुगेको बैंकका अधिकारीहरू बताउँछन्।





About Us
प्रतिक्रिया