काठमाडौं – केन्द्रीय बैंकले उपदान तथा पेन्सन कोषमा रहेको ४ अर्ब ३५ करोड रुपैयाँ बैंकहरुको मुद्दति निक्षेपमा लगानी गर्ने भएको छ। नेपाल राष्ट्र बैंकले यसका लागि मंसिर २३ गते राति ७ बजेसम्म ब्याजदर प्रस्ताव गर्न राष्ट्र बैंकले बैंकहरुलाई आह्वान गरेको छ।
कुल रकममध्ये राष्ट्र बैंकले वाणिज्य बैंकमा ३ अर्ब ४८ करोड रुपैयाँ, राष्ट्रियस्तरका विकास बैंकमा ६५ करोड २५ लाख रुपैयाँ र राष्ट्रियस्तरका वित्त कम्पनीमा २१ करोड ७५ लाख रुपैयाँ मुद्दति निक्षेपका रुपमा लगानी गर्नेछ। यो लगानी सन् २०२५ डिसेम्बर १४ देखि २०२६ डिसेम्बर १४ सम्म ३६६ दिनका लागि हुने केन्द्रीय बैंकले जनाएको छ।
राष्ट्र बैंकको निक्षेप लिनको लागि बैंक तथा वित्तीय संस्था सञ्चालनमा आएको कम्तीमा दुई वर्ष पुरा गरेको हुनुपर्नेछ भने राष्ट्र बैंकले तोकेको न्यूनतम पूँजीकोष कायम हुनुपर्नेछ। त्यसैगरी, निक्षेप लिनको लागि निष्कृय कर्जा कुल कर्जा सापटीको पाँच प्रतिशतभन्दा कम हुनुपर्ने, खुद तरल सम्पत्ति स्वदेशी निक्षेपको कम्तीमा बीस प्रतिशत वा सोभन्दा बढी रहेको हुनुपर्ने, कर्जा र स्वदेशी निक्षेप र प्राथमिक पूँजी अनुपात बैंकले समय समयमा निर्धारण गरेको सीमाभित्र रहेको हुनुपर्ने, शीघ्र सुधारात्मक कारवाहीमा परेको भए फुकुवा भएको कम्तीमा ६ महिना पुरा भएको हुनुपर्ने, समस्याग्रस्त घोषणा भएको भए फुकुवा भएको छ महिना अवधि पूरा भएको तथा सर्वसाधारणको लागि छुट्याईएको शेयर जारी गरिसकेको हुनुपर्ने जस्ता शर्तहरु तोकिएको छ।






About Us
प्रतिक्रिया