पूर्व प्रहरी हवल्दारको हत्या गरी फरार रहेका प्रतिवादी पक्राउ


काठमाडौं – लमजुङको बेसीशहर नगरपालिका– २ भकुण्डेस्थित घरमा वर्ष ४५ की पूर्व प्रहरी हवल्दार सिता कँडेलको हत्या भएपछि फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ। सो हत्याको समयमा स्थानीयले घरबाट दुर्गन्ध फैलिएर आएको सूचना प्रहरीलाई दिएपछि प्रहरी टोलीले घरभित्र प्रवेश गरी खानतलास गर्दा सिता कँडेलको शव आफ्नै कोठाको बक्स पलङमुनी त्रिपालले बेरिएको अवस्थामा फेला पारेको थियो।

घटनाको अनुसन्धानका लागि केन्द्रीय अनुसन्धान व्यूरोबाट विशेष टोली खटिएको थियो। प्राविधिक तथा स्थलगत अनुसन्धानबाट जिल्ला चितवन साविक बछौली –१ घर भएका ४७ वर्षीय बुद्धिराम दराईको संलग्नता पुष्टि भएको थियो।

बुद्धिराम दराईको विगतमा पनि हत्या सम्बन्धी मुद्दा रहेको खुलेको छ। उनले जिल्ला गोरखाको फिनाम–५ बस्ने ५३ वर्षीया चिनी माया पाण्डेलाई निर्ममता पूर्वक हत्या गरेका कारण उनलाई जिल्ला अदालत गोरखाबाट २०६८/०३/२० मा जन्मकैद सजाय सुनाइएको थियो।  पाण्डेलाई पाण्डेको छोरी मनुका भन्ने सम्झना पाण्डेसंग दराईको विवाह गर्ने भन्ने विषयमा विवाद हुँदा दराईले  पाण्डेलाई घाटी थिचि निर्ममता पुर्वक हत्या गरेका थिए।  सजाय भुक्तानको क्रममा उनी मृतक सिता कँडेलसँग भिमफेदी कारागारमा परिचित भएका थिए। 

बुद्धिराम दराईविरुद्ध जिल्ला अदालत लमजुङबाट पक्राउ पुर्जी जारी गरिएको थियो। खोजतलास र अनुसन्धानको क्रममा सीआईबीको टोलीले उनलाई रूपन्देही, सिद्धार्थनगर नगरपालिका– १ बेलहिया स्थित सडकखण्डमा पक्राउ गरी थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय लमजुङमा बुझाएको छ।