वाणिज्य बैंकहरूको अन्तर बैंक कारोबार घट्यो, तीन महिनामा २ खर्ब ४२ अर्ब मात्रै


काठमाडौं – चालु आर्थिक वर्षमा बैंक तथा वित्तीय संस्थामा अल्पकालीन अवधिको लागि हुने अन्तर बैंक कारोबार घटेकाे छ। नेपाल राष्ट्र बैंकको तथ्याङ्कमा चालु आर्थिक वर्ष २०८२/८३ को ३ महिनामा (साउन-असाेज) अन्तर बैंक कारोबार घटेको देखिएको हो। समिक्षा अवधिमा २० वटा वाणिज्य बैंकहरूकाे अन्तर बैंक काराेबारमा पनि गिरावट देखिएकाे छ ।

गत आवको यही अवधिमा वाणिज्य बैंकहरूले ३ खर्ब १ अर्ब २५ करोड रूपैयाँ अन्तर बैंक काराेबार गरेकामा यस वर्ष २ खर्ब ४२ अर्ब ७९ करोड रूपैयाँकाे मात्र काराेबार गरेका छन् । यस्तै, साे अवधिमा वाणिज्य बैंकहरूकाे अन्तरबैंक काराेबार घटेपनि अन्य वित्तीय संस्थाहरूको काराेबार भने बढेकाे छ।

गत वर्षकाे याे अवधिमा ३१ अर्ब २० करोड रूपैयाँ काराेबार गरेका वित्तीय संस्थाहरूको यस वर्ष ५२ अर्ब ६४ करोड काराेबार गरेका छन्। अघिल्लो वर्षको सोही अवधिमा कुल ४ खर्ब २ अर्ब ४५ करोड रुपैयाँको अन्तर बैंक कारोबार भएकाेमा यस वर्ष २ खर्ब ४२ अर्ब ७९ कराेड रूपैयाँकाे मात्रै भएकाे छ।