काठमाडौं – नेपाल राष्ट्र बैंकले परिस्थितीजन्य अवस्थाले ऋण तिर्ने क्षमतामा ह्रास आएका लघुवित्तका ऋणीहरुलाई राहत प्रदान गर्नेगरी नयाँ व्यवस्था ल्याएको छ । केन्द्रीय बैंकले ऋणीको ऋण तिर्ने क्षमतामा ह्रास आएको विषयमा लघुवित्त वित्तीय संस्था विश्वस्त भएमा ऋणीले पेश गरेको लिखित कार्य योजनासहित कर्जालाई पुनरतालिकीकरण गर्न सक्ने व्यवस्था गरेको हो ।
लघुवित्त कम्पनीहरुले कर्जा सम्बन्धी सम्पुर्ण आवश्यक कागजात तथा धितो कर्जाको हकमा सुरक्षण समेत पर्याप्त भएको प्रमाण, कर्जा असुल हुने सम्भावनाबारे इजाजतपत्रप्राप्त संस्था विश्वस्त भएको आधार, तथा पुनरतालिकीकरण मार्फत व्यवसायको निरन्तरताका सम्बन्धमा संस्था आश्वस्त भएमा र कर्जालाई पुनरतालिकीकरण गर्न लिखित कार्ययोजना पेश हुनुका अतिरिक्त त्यस्तो कर्जा पुनरतालिकीकरण गर्दाको दिनसम्म असुल हुन बाँकी ब्याजको कम्तीमा २५ प्रतिशत ब्याज रकम असुल उपर भएमा राष्ट्र बैंकले कर्जाको पुनतालिकीकरण गर्न सक्ने बताएको छ ।
पुनरतालिकीकरण गर्ने समयमा सक्रिय वर्गमा वर्गीकरण भैरहेका कर्जालाई देहायबमोजिमका सबै अवस्थाको पालना गरी पुनरतालिकीकरण गरिएमा न्यूनतम १२.५ प्रतिशत कर्जा नोक्सानी व्यवस्था गर्नु पर्नेछ । यस्तै, कमसल, शंकास्पद तथा खराब वर्गमा वर्गीकरण भैसकेका कर्जाहरुलाई पुनरतालिकीकरण गर्दा पूर्ववत् कायम गरिएको कर्जा नोक्सानी व्यवस्था कायम राख्नु पर्नेछ । पुनरतालिकीकरण गरिएका कर्जामा कायम कर्जा नोक्सानी व्यवस्था लगातार दुईवर्षसम्म कर्जा नियमित भएको अवस्थामा बाहेक कुनै समायोजन गर्न पाइने नपाईने केन्द्रीय बैंकले बताएको छ ।






About Us
प्रतिक्रिया