मुलुकको व्यापार घाटा १० खर्ब ९९ अर्ब, विदेशी रकम १४ खर्ब सञ्चित

मुलुकको व्यापार घाटा १० खर्ब ९९ अर्ब, विदेशी रकम १४ खर्ब सञ्चित


बैकिङ्ग समाचार  ।
मुलुक को वस्तु व्यापार घाटा १६.८ प्रतिशतले संकुचन आएको छ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्षको वित्तीय स्थितिअनुसार एक वर्षमा मुलुकको व्यापार घाटा १० खर्ब ९९ अर्ब ९ करोडमा सीमित भएको छ।

गत आर्थिक वर्षमा कुल ११ खर्ब ९६ अर्ब ८० करोडको बस्तु आयात भएको छ। आयात अघिल्लो वर्षको तुलनामा १५.६ प्रतिशतले घटेको हो। अघिल्लो वर्ष यस्तो आयात १३.९ प्रतिशतले बढेको थियो।

वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः १९.९ प्रतिशत, ११.५ प्रतिशत र ५.३ प्रतिशतले घटेको छ।

वस्तुगत आधारमा कच्चा पाम तेल, कच्चा सोयाविन तेल, रासायनिक मल, खाने तेल, कम्प्युटर तथा पार्टपुर्जा लगायतका वस्तुको आयात बढेको छ भने पेट्रोलियम पदार्थ, यातायातका साधन तथा पार्टपुर्जा, एम.एस. बिलेट, सुन, अन्य मेशिनरी तथा पार्टपुर्जा लगायतका वस्तुको आयात घटेको छ।

एक वर्षको समीक्षा अवधिमा कुल वस्तु निर्यात ०.६ प्रतिशतले वृद्धि भई.९७ अर्ब ७१ करोड पुगेको छ। अघिल्लो वर्ष यस्तो निर्यात १९.४ प्रतिशतले वृद्धि भएको थियो।

गन्तव्यका आधारमा भारततर्फ ११.८ प्रतिशतले निर्यात वृद्धि भएको छ भने चीन तथा अन्य मुलुकतर्फ क्रमशः ४३.५ प्रतिशत र १८.२ प्रतिशतले घटेको छ।

वस्तुगत आधारमा पाम तेल, आयुर्वेदिक औषधि, जडिबुटी, प्लाष्टिकका भाँडा, फलफुल लगायतका वस्तुको निर्यात बढेको छ भने जस्तापाता, तार, पोलिस्टर यार्न तथा धागो, तयारी पोशाक, उनी गलैंचा लगायतका वस्तुको निर्यात घटेको छ।

ब्यापार घाटामा कमी आउँदा मुलुकको भुक्तानी सन्तुलन बचत बढेको छ। गत आर्थिक वर्ष भुक्तानी सन्तुलन अर्थात शोधनान्तर स्थिति २ खर्ब ८२ अर्ब ४१ करोडले बचतमा रहेको छ।

जवकि अघिल्लो वर्ष शोधनान्तर स्थिति ६७ अर्ब ४० करोडले घाटामा रहेको थियो। मुलुकबाट भित्रिने र बाहिरिने रकमको अन्तरलाई शोधनान्तर स्थितिले जनाउँछ। शोधनान्तर स्थिति बचतमा हुनु भनेको मुलुकबाट बाहिरिनेभन्दा भित्रिने रकम बढी हुनु हो।

त्यस्तै गत आर्थिक वर्ष चालु खाता घाटा ८७.९ प्रतिशतले घटेर ३२ अर्ब ६ करोड कायम भएको छ। अघिल्लो वर्ष यस्तो घाटा २ खर्ब ६५ अर्ब ३६ करोड थियो।

मुलुकको विदेशी विनिमय सञ्चिति पनि बढेको छ। २०७६ असार मसान्तमा १० खर्ब ३८ अर्ब ९२ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति ३४.९ प्रतिशतले वृद्धि भई २०७७ असार मसान्तमा १४ खर्ब १ अर्ब ८४ करोड पुगेको छ।

अमेरिकी डलरमा यस्तो सञ्चिति २०७६ असार मसान्तमा ९ अर्ब ५० करोड रहेकोमा २०७७ असार मसान्तमा ११ अर्ब ६५ करोड पुगेको छ।

कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०७६ असार मसान्तमा ९ खर्ब २ अर्ब ४४ करोड रहेकोमा २०७७ असार मसान्तमा १२ खर्ब २६ अर्ब १२ करोड पुगेको छ।

बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०७६ असार मसान्तमा १ खर्ब ३६ अर्ब ४७ करोड रहेकोमा २०७७ असार मसान्तमा १ खर्ब ७५ अर्ब ७१ करोड पुगेको छ।

२०७७ असार मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२.८ प्रतिशत रहेको छ।