मौद्रिक नीतिको पहिलो त्रैमासिक समिक्षा सार्वजनिक, यी व्यवस्थामा भए हेरफेर (पूर्णपाठ)


काठमाडौं – नेपाल राष्ट्र बैंकले आज चालु आर्थिक वर्ष २०८२।८३ को मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षा सार्वजनिक गरेको छ। मौद्रिक नीति समीक्षा गर्दै बैंकले नीतिगत दर घटाएको छ। यसअघि कायम रहेको नीतिगत दर ४.५० प्रतिशत रहेकोमा ४.२५ प्रतिशत कायम गरेकेा छ।

त्यस्तै, करिडोरको माथिल्लो सीमाको रुपमा रहेको स्थायी तरलता सुविधा दर ६ बाट घटाएर ५.७५ प्रतिशत कायम गरिएको छ भने तल्लो सीमाको रुपमा रहेको स्थायी निक्षेप सुविधा दर २.७५ प्रतिशतलाई यथावत राखिएकाे छ।

लघुवित्त वित्तीय संस्थाबाट धितोमा प्रवाह गरिने कर्जाको सीमा पनि बढाएकाे छ। राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाबाट धितोमा प्रवाह गरिने कर्जाको अधिकतम सीमा ७ लाखबाट बढाएर १५ लाख कायम गरेको हो।

यस्तै, केन्द्रीय बैंकले लघुवित्त वित्तीय संस्थाबाट ऋण प्राप्त गरेका ऋणीहरूको कर्जा भुक्तानीमा पर्न गएको समस्यालाई ध्यानमा राखी कर्जा भुक्तानीको तालिका परिमार्जन गर्न सकिने व्यवस्था मिलाइने पनि बताएको छ। राष्ट्र बैंक ऐन, २०५८ मा भएको व्यवस्थाअनुसार नयाँ आर्थिक वर्ष सुरु भएको १५ दिनभित्र वार्षिक मौद्रिक नीति ल्याउनुपर्छ। हरेक त्रैमास र अर्धवार्षिक समीक्षा त्रैमास सकिएको ४५ दिनभित्र ल्याउनुपर्ने प्रावधान छ।