जेनजी आन्दोलनमा फरार कैदीद्वारा चोरी गरी बिक्री गरिएको मोटरसाइकलसहित एक जना पक्राउ


काठमाडौं – मकवानपुर प्रहरीले चोरी भएको मोटरसाइकलसहित एक युवकलाई पक्राउ गरेको छ। जेनजी आन्दोलनका क्रममा केन्द्रीय कारागार सुनधाराबाट फरार भएका कैदीले चोरी गरी बेचेको मोटरसाइकल चलाइरहेका व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार हेटौँडा उपमहानगरपालिका–७ हरियालीस्थित सडक खण्डमा नियमित चेकजाँचका क्रममा प्रहरीले बा ४० प ४२९५ नम्बरको मोटरसाइकल रोकेर कागजात माग्दा कुनै कागजात नदेखिएपछि चालकलाई नियन्त्रणमा लिएको थियो। मोटरसाइकल चालक हेटौँडा–१५ भोर्लेका २१ वर्षीय अभिषेक वाइबालाई सोधपुछ गर्दा उक्त बाइक २६ वर्षीय राजेश खातीले बिक्री गरेको खुलेको प्रहरीले जनाएको छ।

खाती भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनको अवसर पारेर काठमाडौंको केन्द्रीय कारागार सुनधाराबाट फरार भएका थिए। उनी केही दिन अघि पुनः पक्राउ परेर कारागारमै राखिएको प्रहरीले जनाएको छ ।